कर्णालीमा हिमपात

कर्णालीमा माइनस ६ डिग्री तापक्रम

जुम्ला । आज मंगलबार बिहान ११ बजेदेखि कर्णालीमा हिमपात भएको छ । जुम्ला, मुगु, हुम्ला र डोल्पामा हिमपात भएको हो ।

हिमपातले यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । बेसीमा सामान्य हिमपात भएपनि लेकमा बढी हिमपात भएको छ । आज रहेको र यो अझै बढ्न सक्ने मौसम फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

हिमपातले ज्येष्ठ नागरिक, अशक्त–अपांगहरु बढी प्रभावित भएका छन् । जिल्ला प्रशासन, मालपोत र नगरपालिकाका सरकारी कार्यालयका कर्मचारीले कार्यालय परिसरमा आगो बालेर सेवा प्रवाह गरिरहेका छन् । चिसोले खासगरी यही मंसिर २२ गतेबाट सञ्चालन भएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइरहेका विद्यार्थीलाई निकै कठिन भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।

जाडोले भाइरलका बिरामी बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त मेडिकल डाइरेक्टर डा सूर्यमान लिम्बुले बताउनुभयो । बढ्दो जाडोले कतिपय स्थानमा पानी जमेर पाइप फुट्दा र धारासमेत भाँचिदा खानेपानीको अभाव हुँदै गएको बताइन्छ । हिमपातका कारण फाटफुट रुपमा सडक मार्गमा गाडी चले पनि जुम्ला–नेपालगन्जको हवाई उडान हुन सकेका छैनन् ।

जाजरकोटः आज बिहानैदेखि जाजरकोटमा पानी पर्न थालेपछि चिसो बढेको छ । यहाँका अग्ला हिमालमा हिमपात भएको छ ।

जिल्लाका वारेकोट गाउँपालिका, त्रिवेणी नलगाड नगरपालिकाको डोल्पाको सिमानामा, जुनीचाँदे गाउँपालिकाको माथिल्लो बस्तीमा हिमपात भएको हो ।

पानी र हिमपात सँगै यहाँका स्थानीयवासी चिसोले हैरान भएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले बताउनुभयो । चिसोका कारण बिहानै काममा निक्लिने स्थानीयवासी आगो बालेर ठाउँठाउँमा जम्मा भएको सिंहले बताउनुभयो । चिसोले शैक्षिक संस्थामा बिहानै विद्यार्थीको सङ्ख्या कम देखिएको त्रिभुवन उच्च मावि दल्लीका प्राचार्य नारायणबहादुर सिंहले राससलाई बताए । जाजरकोटबाट डोल्पामा सामग्री ढुवानी गर्ने काम चिसोको कारण प्रभावित भएको छ ।

रुकुम र डोल्पामा पनि चिसो बढेको छ । माथिल्लो डोल्पामा हिमपात सुरु भएको छ । रासस