अर्को क्रान्तिको तयारीमा छौँ ः मोहन वैद्य किरण

गठबन्धनहरु जनतालाई झुक्याउने प्रपन्च मात्रै

शनिबार, १६ मङ्सिर २०७४

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नेपालमा राजनीतिक क्रान्ति अझै बाँकी रहेकोले परिवर्तनका लागि आफूहरु अर्को क्रान्तिको तयारीमा रहेको खुलासा गरेका छन् ।
आज विहान भण्डाफोर अभियानसँग संक्षिप्त कुरा गर्दै नेता किरणले भने, हामी परिवर्तनका लागि अर्को क्रान्तिको तयारीमा छौँ ।’ ‘क्रान्ति पूर्ण भएकै छैन् । जनयुध्दका ऐजेण्डाहरु जस्ताको तस्तै छन् । देशमा बैदेशिक हस्तक्षेप बढिरहेको छ, महंगी ले सिमा नाघिसक्यो,युवाहरु विदेश पलायन बढिरहेको छ, देशमा उत्पादन घटिरहेको छ, यस्तो अवस्थामा क्रान्ति कसरी सकियो भन्न सकिन्छ ।
महासचिव किरणले भने  ‘क्रान्ति भनेको शोषक, सामन्त, फटाहाको हातबाट राज्यसत्ता सर्वहारा, मजदुर, किसानको हातमा ल्याउने हो । ‘पञ्चायतविरुद्ध हामी लड्यौँ, गणतन्त्रमा पनि तिनै पञ्चहरु मन्त्री भएका छन’ नेता किरणले भने, ‘परिवर्तन हुन सकेको छैन । जनतालाई गम्भीर धोका भएको छ । संसदीय व्यवस्थाको ठाउँमा संसदीय व्यवस्था नै आयो । दस वर्ष लामो सशस्त्र जनयुद्धले पनि देशमा गुणत्मक परिवर्तन ल्याउन सकेन क्रान्ति अझै बाँकी छ ।’ नेता  किरणले भने क्रान्ति अझै आवश्यक छ । त्यस्को लागी क्रान्तिकारीहरु एकजुट भई अगाडी बढनुपर्छ ।
बहुदलीय व्यवस्था र बहुलवादको कुरा गर्ने अनि थ्रेसहोल्डको व्यवस्था गर्ने काम लोकतान्त्रिक हुन नसक्ने भन्दै नेता किरणले चुनावको मुखमा निर्माण भएका लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको आलोचना गर्दै अहिलेका दुबै गठबन्धन मध्ये जस्ले जिते पनि जनताको हित र गुणात्मक बिकाश हुन नसक्ने टिप्पणी गरे ।
मुलुकमा राजनीतिक परिवर्तन नभई आर्थिक परिवर्तन हुन नसक्ने ठोकुवा गर्दै नेता किरणले गठबन्धनहरु जनतालाई झुक्याउने प्रपन्च मात्रै भएको जिकिर गरे ।