युवाहरुको समस्या समाधान गर्छु ः कृष्ण भुर्तेल

चितवन, १३ मंसिर ।
वाम गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा क का उम्मेदवार कृष्ण भुर्तेलले युवाहरुको चाहनालाई सम्बोधन गर्दै अगाडि बढ्ने बताउनुभएको छ । संयुक्त निर्वाचन परिचालन समिति, क्षेत्र नम्बर ३ चितवनले बुधबार भरतपुर १५ मंगलपुरमा आयोजना गरेको प्रचण्ड, कृष्ण भुर्तेल विजयी अभियानलाई सम्बोधन गर्दै भुर्तेलले नीतिगत र सैद्धान्तिक रुपमा दक्ष युवा बनाउने प्रतिवद्धता जनाउनुभएको छ । यो निर्वाचनमा ढुक्क भएर वाम गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दै भुर्तेलले युवाहरुको समस्या आफूले बुझेकोले त्यसको समाधानको लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उक्त चुनावी सभालाई सम्बोधन गर्दै भुर्तेलले आफ्नो क्षेत्रमा रहेका सुकुम्बासीहरुको समस्या समाधान गर्नको लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । भरतपुर १५ को देवीचोक वरिपरीका समस्याहरु पहिचान गर्दै समाधान गर्नको लागि स्थलगत अवलोकन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको साथ लिएर काम गर्ने भुर्तेलको भनाइ छ । यहाँ भएका सुकुम्बासी बस्तीमा बिजुली बत्ती, खानेपानी तथा बस्ती व्यवस्थापनको लागि तत्कालन काम सुरु गर्न सरोकारवाला निकायसँग छलफल गर्ने भुर्तेलले बताउनुभयो । उक्त चुनावी सभामा नेपाली काँग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर सुदीप गुरुङको नेतृत्वमा युवाहरुको ठूलो समूह वाम गठबन्धनमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार पुष्पकमल दाहाल र चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा (क)का उम्मेदवार कृष्ण भुर्तेलले स्वागत गर्नुभएको थियो ।
घुमुवा नराखेको जानकारी दिए ।