प्रचण्ड राष्ट्रपति बन्ने भविष्यवाणी !


चितवन । पहिलो संविधानसभा निर्वाचनमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको रूपमा प्रचार गरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भित्ते राष्ट्रपतिको रूपमा उभ्याइए । उनी अझै नेपालको राष्ट्रपति बन्ने भविष्यवाणी एक ज्योतिषले गरेका छन् । पाँच दशकदेखि ज्योतिष विद्यामा काम गर्दै आएका एक ज्योतिषले पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रपति बन्ने योग रहेको तथ्य जन्मकुण्डलीमार्फत सार्वजनिक गरेका छन् ।
गैंडाकोट–२ शिलान्यासचोक निवासी ७४ वर्षीय ज्योतिष बलराम सुवेदीले आफूद्वारा लिखित पुस्तक ‘कालसर्पयोगको शल्यक्रिया’ मा प्रचण्ड, पूर्वराजा वीरेन्द्र, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका व्यक्तिहरुको जन्मकुण्डली तयार पारि ज्योतिष विद्याअन्तर्गत रही उनीहरुको विगत, वर्तमान र भविष्य केलाउने प्रयास गरेका हुन् । ज्योतिष विद्याका विद्धानहरुको अगाडि उनले जन्मकुण्डली सार्वजनिक गरेका हुन् ।
‘प्रचण्डको जन्मकुण्डलीमा गुरू र शनी उच्च राशीमा छन् । गुरुले राज्यमन्त्री वा मण्डलाधिप र शनीले धुनष बाण चलाउने विख्यात हुन्छ’, ज्योतिष सुवेदीले भने । साथै शुक्र मूल त्रिकोण राशीमा रहेको हुँदा उनको एकपटक राजा वा राष्ट्रपति हुनै पर्ने योग परेको सुवेदीको भनाइ छ । राहु र केतुका बीचमा लगभग ६ ग्रह छन् । जसले गर्दा यसअघि पनि प्रधानमन्त्री भएको उनले बताएका छन् ।
एमाले नेता माधव नेपालको हकमा उनले भने,‘राहु र केतुका बीचमा पाँच ग्रह छन् । विद्या स्थानमा राहु र आय स्थानमा केतु छन् ।’ वीरेन्द्रको जन्मकुण्डलीमा सूर्य र शुक्र केतुँसँगै रहेकाले कल्पित कालसर्पयोग नपरेको उनको भनाइ । जन्म समय भएको खण्डमा ग्रह स्पष्ट गराउन सकिने उनले बताए ।
‘राहु र केतुका बीचमा पाँच ग्रह छन् । राजाको प्रथम पुत्रका रुपमा जन्मनु भयो र सबैको प्रिय पनि हुनुभयो,’ उनले भने । उनले भगवानहरु गणेश, श्रीकृष्ण, रामचन्द्रको जन्मकुण्डली तयार पारेका छन् । त्यस्तै अन्तराष्ट्रिय व्यक्तिहरु वैष्णव समुदायका प्रवर्तक रामानुजाचार्य र भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुको जन्मकुण्डली रहेका छन् ।
राष्ट्रिय व्यक्तित्वका रुपमा पूर्वराजा वीरेन्द्र, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, त्रिदण्डी स्वामी पराङकुशाचार्य, स्वामी ज्ञानानन्द सरस्वतीलगायतका व्यक्तिहरुको जन्मकुण्डली ज्योतिष बलराम सुवेदीले तयार पारेका हुन् । श्रुति, स्मृति, पुराणलगायतमा नागलाई पूर्ण देवता मानिएको छ ।
नौ ग्रहहरुमा नागलाई राहु मानिएको छ । केतु पनि राहुकै अंग हो । त्यसकारण जन्मकुण्डलीमा राहुकेतुका साथमा बसेका ग्रहले शुभफल दिन्छन भनिन्छ । ‘कालसर्पयोगबाट नराम्रो परिणाम निस्कन्छ भन्ने कुरामा सहमत हुन सकिन्न’, ज्योतिष सुवेदीले भने । ज्योतिष सुवेदीद्वारा लिखित पुस्तकको सम्पादन डा मतिप्रसाद ढकालले गरेका हुन् ।
कालसर्पयोगको शल्यक्रिया कार्यक्रममा बोल्दै बुधबार भएको पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य ज्योतिष दैवज्ञ त्रिकालदर्शी शिरोमणि टीकाराम भुषालले पुस्तकले नयाँ विषयलाई बहसका रुपमा प्रस्तुत गरेको बताए ।
पुस्तकका सम्पादक डा मतिप्रसाद ढकालले ज्योतिष विशिष्ट ज्ञान क्षेत्र भएकोले यसका बारेमा सामान्य ज्ञान लिनेहरुले ज्योतिष हुँ भन्दै अल्पज्ञानको भरमा भ्रम छर्ने काम गरेको बताए । कार्यक्रममा ज्योतिषहरु बज्रमोहन सोती, ऋषिराम भुषाल, माधव सापकोटा, डा गणेशप्रसाद खराल, अधिकारकर्मी मीना खरेल र युवा व्यवसायी कञ्चल अग्रवालले ज्योतिष शिक्षा र पुस्तकमाथि धारणा राखेका थिए । कार्यक्रममा लेखकका पुत्र समाजसेवी सोमराज सुवेदीले स्वागत मन्तव्य राख्दै पुस्तक अध्ययन गरी टिकाटिप्पणी गरिदिन आग्रह गरे ।
mmmmmmmmmmmmmmmmm