वरिष्ठ भारतीय पत्रकार गौरी लंकेशको बेंगलुरुमा गोली हानी हत्या

एजेन्सी, भदौ २१ –

भारतको बेंगलुरुमा भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले नै केही भन्न नसकिने बेंगलुरुका पुलिस कमिश्नर सुनील कुमारले बताउनुभएको बिबिसीले उल्लेख गरेको छ ।
गौरीले लंकेश पत्रिका मार्फत कम्युनल हार्मोनी फोरमलाई साथ दिँदै आउनुभएको थियो । लंकेश पत्रिका उहाँका पिताले ४० वर्षअघि सुरु गर्नुभएको थियो । गौरी अहिले त्यसको सञ्चालक हुनुहुन्थ्यो । मंगलबार बेलुका राज राजेश्वरीमा रहेको घरको ढोका खोल्दै गर्दा गौरीमाथि गोली प्रहार भएको एक प्रहरी अधिकारीले बताएका छन् ।