जेसीज कपको तयारी अन्तिम चरणमा

नारायणगढको क्याम्पाचौरमा आगामी १७ गतेबाट हुन लागेको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता जेसीज कप–२०७४ को तयारी तीव्र बनाइएको छ । प्रतियोगिताका लागि मैदान निर्माण कार्य भइसकेको छ भने अरु व्यवस्थापनको काम पनि करिब अन्तिम चरणमा पु¥याईएको आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए ।
तयारीकै सिलसिलामा शनिबार खेल मैदान क्याम्पाचौर नारायणगढमा सल्लाहार समितिको बैठक बसेको छ । कार्यक्रममा सल्लाहकारहरुले प्रतियोगिता सफल बनाउन सबै पक्ष एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको नारायणगढ जेसीजका महासचिव अनोज जोशीले जानकारी दिए । सो क्रममा सल्लाहकार संयोजकसमेत रहेका भरतपुर–१ का वडाध्यक्ष जयराम श्रेष्ठ, वडा नम्बर २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितको समेत उपस्थिति थियो । उनीहरुले प्रतियोगिता यी तीनै वडाका लागि प्रतिष्ठाको विषय भएकाले सफल पार्न हरतरहले सहयोग गर्ने बताए ।
कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामा, चितवन जिल्ला फुटबल संघका अध्यक्ष राजेशराम श्रेष्ठ, उद्योग वाणिज्य संघ–चितवका अध्यक्ष राजन गौतम, उद्योग संघ–चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठ, पूर्व खेलाडीहरु, जिल्लाका क्लबका प्रतिनिधिहरु सहभागी थिए । उनीहरु सबैले सबैको प्रतियोगिताका रुपमा सहयोग गर्न तयार रहेको बताएको प्रतियोगिता संयोजक अमृत श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता आगामी भदौ १७ गतेबाट सुरु भई १० दिनसम्म चल्ने प्रतियोगिताका प्रचारप्रसार समिति संयोजक अर्जुन अधिकारीले जानकारी दिए । यसका लागि विभिन्न उपसमितिहरुले काम गरिरहेको उनले बताए ।