मुग्लिन–नारायणगढ सडकखण्डले ४७ को ज्यान लियो


चितवन÷मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतीको काम सुरु भएयताका २७ महिनामा दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ९९ वटा  दुर्घटना भएको र त्यस मध्येमा ४७ जनाको ज्यान जानुका साथै १ सय ७३ जना घाइते भएको सडक विस्तार आयोजनाले जनाएको छ ।
यो अवधिमा दुर्घटनामा परि आयोजनामा कार्यरत एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएको आयोजनाका इन्जिनियर शिव खनालले बताए । सन् २०१५ को अप्रिल अर्थात २७ महिना अघि मुग्लिन–नारायणगढ सडकखण्ड स्तोरोन्नतीको काम सुरु भएकोमा आयोजनाको काम ढिलो हुँदा तेस्रो पटक म्याद थपिएको छ । अहिलेसम्म ५२ प्रतिशत काम सकिएकाले तेस्रो पटक थपिएको म्याद सन् २०१८ को फेब्रुअरी २० तारिखसम्ममा स्तरोन्नतीको काम सकिने अपेक्षा गरिएको आयोजनाले जनाएको छ । यसैविच, नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा समेत भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ ।
उक्त सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको छ । नारायणगढ–मुग्लिन सडकआयोजनाका इन्जिनियर शिव खनालका अनुसार राति ९ बजेदेखि बिहान ४ बजेसम्म काम गर्न थालिएको हो ।
नारायणगढबाट २२ किलोमिटरको दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने हुन्छ । दुईवटा एक्साभेटर र दुईवटा लोडर राखेर कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।
रातमा सवारी साधन आवागमन बन्द गरेपछि असार २७ गतेबाट सो ठाउँमा रातिमा बत्ती बालेर काम थालिएको हो । तीन दिनयताबाट चेपाङ डाँडामा पनि रातिमा काम थालिएको छ ।
नारायणगढबाट ३३।८ किलोमिटर मुग्लिनतर्फ चेपाङ डाँडो पर्दछ । सो ठाउँमा केन्टिलिभर राखिने भएपछि ३३ मिटर अग्लो ठाउँबाट पहाड काट्न थालिएको छ । सो ठाउँमा सडक पाँच मिटर फराकिलो रहेको छ ।
चेपाङ डाँडामा १५० मिटर लामो क्षेत्रमा पहाड काट्नुपर्ने हुन्छ । उक्त ठाउँमा ७० प्रतिशत काम गर्न बाँकी छ । ठाउँ सानो भएकाले सो ठाउँमा माथि एउटा ब्रेकर र तल सडकमा एउटा लोडर प्रयोग गरिएको छ । काममा ढिलो भएपछि चौतर्फी दबाबसँगै ठेकेदार कम्पनीले रातको समयमा दासढुंगा क्षेत्रमा ग्राभेलिङ गरेर सम्याउने काम थालेको छ ।