नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो

चितवन,असार ४
नारायणगढ मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आज बिहान ३ बजेतिर झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध बनेको हो । बिहान १० बजेसम्म पहिरो हटाउन सकिने नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । पहिरो पन्छाउन आयोजनकै डोजरहरूले बिहानैबाट काम गरिरहेका छन् ।

आयोजनाले सडक निर्माणका लागि भन्दै बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गराउदै आएको छ । तर आज भने पहिरोका कारण सडक अवरुद्ध भएकोले १० देखि ४ बजेसम्म यातायात बन्द नै गर्ने योजना नभएको यादव बताए । कालिखोला पहिरो जोखिम क्षेत्र हो । सुख्खायाममा समेत पहिरो खस्ने यो स्थानमा बर्षातको बेलामा झनै समस्या निम्ताउन सक्ने देखिन्छ ।