अपराधी नसमातेको भन्दै थाकसको आपत्ति

चितवन । चितवन भरतपुर महानगरपालिकाको वडा नं। २५ शुक्रनगरस्थित चितहीमा भएको डरलाग्दो लुटपाटमा संलग्न कसैलाई पनि प्रहरीले हालसम्म गिरफ्तार गर्न सकेको छैन । गत,जेठ ४ गते राती एघार बजेको समयमा अज्ञात समूहले गोली हानी स्थानीय गंगासागर महतोको हत्या गरेका थिए भने, उनको आमा सउनी महतो र बहिनीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । लुटेराले घरमा राखिएको झण्डै २ लाख रुपैयाँ सहित केही गरगहना समेत खोसी लगेका थिए । उनीहरुको घरदेखि लगभग १ किलोमिटरकै दुरीमा प्रहरी चौकी भए पनि खबर गरे लगत्तै प्रहरी घट्नास्थल तर्फ नआउँदा उग्ररूपमा लिएको स्थानीयले बताएका छन् । घट्ना भएको तीन साता बितिसक्दा समेत प्रहरी प्रशासन अपराधीलाई गिरफ्तार गर्न निरीह हुँदा घटना नै ओझेलमा परेको पीडित पक्ष र थारु कल्याणकारिणी सभा चितवनले आरोप लगाएका छन् । साथै, उनीहरुले घटना घटेको तीन साता विति सक्दा समेत प्रहरीले अझै प्रतिवेदन सार्वजनिक नगरेको भन्दै तीब्र असन्तुष्टि जनाएका छन् । जिल्ला सभापति विश्राम महतोको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको थारु समुहको टोलीले घटनापछि भइरहेको अनुसन्धानको बारेमा जानकारी लिएका थिए । भने छिटो भन्दा छिटो अपराधीलाई सार्वजनिक गर्न चितवन प्रहरी प्रमुख दिपक थापा समक्ष माग गरेका छन् । टोलीले गोलीकाण्डपछि उत्पन्न समस्यालाई गम्भीर भएर लिन प्रहरी प्रशासनलाई आग्रह गरेको हो । अपराधीलाई पहिचान गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गर्दै पीडित परिवार प्रहरी प्रशासन सम्म कयौं पटक पुग्यौं । तर , प्रहरी प्रमुख दिपक थापाले आश्वासनको अलवा अरु केही दिएनन् । यो विषयमा प्रहरीले गम्भीर भएर लागेको प्रतिकृया दिएपनि अपराधीलाई सार्वजनिक गर्न ढिलाई गरिरहेको आरोप पीडितले लगाएको छ । उता, चितवनका एसपी दिपक थापाले गोली हान्नेलाई प्रहरीले पक्राउ गरिसकेको संकेत गर्दै घट्नामा संलग्न सबैलाई तीन दिन भित्र प्रमाण सहित सार्वजनिक गरिने आश्वासन दिएका छन् । उनले भने, घटनामा संलग्न रहेको आशंकामा हामीले सात जनालाई पक्राउ गरेका थियौं र त्यस मध्ये पाँच जनालाई तारेखमा छाडे पनि फेरी हिरासतमा लिएका छौँ । यसैबीच , चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रतिबद्धता जाहेर गरे संगै थारु कल्याणकारिणी सभा चितवनले तीन दिन भित्रमा अपराधीलाई नसमाते सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । घटना बारे सत्यतथ्य बाहिर नल्याएको भन्दै थारु कल्याणकारी सभा चितवनले आन्दोलनको तयारी गरेका हुन् । उनीहरुले क्षेत्र नं। २ का क्षेत्रीय सभापति बाबुराम महतोको संयोजकत्वमा दवाब समिति समेत गठन गरेको छ ।