अष्ट्रेलियामा पहिलो राष्ट्रिय उद्यमी सम्मेलन

अष्ट्रेलिया । आगामी आइतबार सिड्नीमा हुन लागेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलन २०१७ को तयारी भव्यतापूर्वक सुरु भएको छ ।

सिड्नीको रेज होटलमा आइतबार बिहान १० बजेदेखि अपरान्ह पाँच बजेसम्म सम्मेलन सञ्चालन हुनेछ ।

‘एक एनसीसी-एक लगानी-एक रोजगारी’ नारासहित हुन लागेको सम्मेलनको प्रमुख प्रेरक वक्ताका रुपमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. शेष घले नेपालबाटै आउने भएका छन् ।

शेष घलेको उत्प्रेरक मन्तव्य

घले हाल गोरखाको लाप्राकमा भूकम्प पीडितहरुका लागि बस्ती निर्माणमा सक्रिय छन् । उनी अष्ट्रेलिया पुगेर प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । केही नेपाली र जापानी व्यवसायीहरुको पनि सम्मेलनमा सहभागीता रहनेछ ।

घलेले व्यवसाय सफल हुनका लागि आवश्यक आधारभूत तत्वहरुको बारेमा उत्प्रेरक मन्तव्य दिनेछन् ।

८० प्रतिशत सहभागीता न्यू साउथ वेल्सबाट

उक्त सम्मेलनमा अर्का वक्ताको रुपमा सफल व्यवसायी तथा न्यू साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दीपक खड्काले पनि उत्प्रेरक मन्तव्य दिने भएका छन् ।

उक्त सम्मेलनमा करिब ८० प्रतिशत व्यवसायीहरुको उपस्थिति न्यू साउथ वेल्सबाट हुने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोख्रेलले अनलाइनखबरलाई बताए ।

नेपालीहरुको सबैभन्दा बढी बसोबास भएको यो राज्यमा करिब तीन सय वटा नेपालीहरुका व्यवसाय छन् ।