भ्रष्टाचार न्यूनीकरणमा सञ्चारमाध्यमको अहम भूमिका हुने

भ्रष्टाचार न्यूनीकरणमा सञ्चारमाध्यमहरुको अहम भूमिका रहने शुक्रबार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बताएका छन् ।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा  बोल्ने अधिकांश वक्ताहरुले  यस्तो धारणा राखेका हुन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सप्तगण्डकी बहुमुखी क्याम्पस समाजशास्त्र तथा आमसञ्चार विभागको आयोजनामा भरतपुरस्थित होटल ग्लोबलमा सञ्चालित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि चितवन जिल्ला अदालतका अतिरिक्त जिल्ला न्यायाधीश नारायण सुवेदीले भ्रष्टाचार न्यूनीकरणमा सञ्चारमाध्यमहरुको अहम भूमिका रहने भन्दै उनले सञ्चारमाध्यमको कारणले नै कतिपय मुद्दामा न्यायाधीशको जागिर समेत चट भएको नजिर रहेको उल्लेख गर्दै समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन सञ्चारमाध्यम अझै सशक्त र खोजमूलक हुनुपर्नेमा जोड दिए । त्यस्तै, पूर्वसांसद एवम् भ्रष्टाचारविरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले भ्रष्टाचारमुक्त देश निर्माणमा सञ्चारमाध्यम र युवाहरुको महत्वपूर्ण भूमिका रहने बताए । त्यस्तै, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले सञ्चारमाध्यमले भ्रष्टाचारको विषय छाप्नु वा प्रशारण गर्नुमात्रै जिम्मेवार हुनु नभएर उठाइएका विषयहरुको टुङ्गो नलागेसम्म नियमित प्रकाशन प्रशारण गरी जनतालाई पूर्णरुपमा सुसूचित हुने अधिकार प्रदान गर्नुपर्ने बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले भ्रष्टाचार निर्मूल पार्न सम्भव नभए पनि नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ चितवन अध्यक्ष सूर्य बराल, नारायणी टुडेका सम्पादक वीरेन्द्रमणि पौडेल, संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलगायतले भ्रष्टाचार न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए ।
सप्तगण्डकी क्याम्पसमा पत्रकारिता अध्ययनरत तेस्रो वर्षका विद्यार्थीहरुको समन्वयमा उक्त कार्यक्रम भएको थियो । तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सविता रेग्मीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम समाजशास्त्र तथा आमसञ्चार विभागका प्रमुख सोमराज महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।