राज्य निरीह, मर्कामा रिक्सा मजदुर

–    सरोज उपरकोटी
राम बहादुर विश्वकर्माले विधुतीय रिक्सा किनेको ५ महिना भयो । उनले भरतपुर नगर क्षेत्रमा सो रिक्सा चलाउँछन् । रनपा–१६, पिठूवा घर भएका उनी विदेशमा बिरामी भई ४ महिना मै घर फर्किएर ऋण लिई रिक्सा चलाउन पुगे । ४ लाखको लगानी गरेर स्वदेशमा नै केहि गर्छु भनेका उनी अहिले विधुतीय रिक्साको नाममा दिनदिनै बदलिने व्यवस्थाले आजित भएको बताउँछन् । उनको बुझाईमा सरकारी निकायले अपरिपक्क निर्णय गर्दै जाँदा रिक्सा मजदुरलाई समस्या भएको छ । उनी भन्छन्– ‘म अरबको नादिप कम्पनीमा काम गर्थें, याष्ट्रिक भएर ४ महिनामा फर्किएँ, त्यस पछाडी ४ लाख ऋण लिएर रिक्सा किने तर अब कसो हुने हो के हुने थाहा छैन् ।’

अरब पनि ऋण नै खोजेर गएर नतिरी स्वदेश फिरेका उनी रिक्साबाट थप ४ लाख थपिएकोमा चिन्तित छन् । उनलाई गरीबले जे गर्दा पनि समस्या मात्र आईरहने रहेछ जस्तो लाग्छ । राम बहादुरले रिक्सा किन्दा सवारी चालकको अनुमति पत्र लिनु पर्छ भन्ने थिएन तर अहिले सवारी चालक अनुमति पत्र विना रिक्सा चलाएको भन्दै ट्राफिकले रिक्सा समाउन थालेकोमा उनी चकित छन् । राम बहादुर एउटा प्रतिनिधि पात्र मात्र हुन्, यस्ता पिडित रामबहादुरहरु यहाँ सयौं छन् । रिक्सा व्यवसायी र मजदुरहरु पनि यात्रु बोक्ने रिक्सा चलाउन सवारी चालक अनुमति पत्र चाहिन्न भन्ने पक्षमा छैनन् । उनीहरु पनि रिक्सा चलाउन सवारी चालक अनुमति पत्र चाहिन्छ, भन्छन् ।

तर चितवन प्रशासनले कुनै सूचना र विकल्प नदिई रिक्सा पक्राउ गर्न थाल्नु प्रशासनको कमाई खाने धन्दा जस्तो बनेको अखिल नेपाल विधुतीय रिक्सा मजदुर संघका जिल्ला सचिव बलराम पौडेल आरोप लगाउँछन् । चितवन ट्राफिकले दशैं अगाडि करिब १०० र तिहार पछि करिब २५० विधुतीय रिक्सालाई पक्राउ गरेको थियो । ट्राफिकले सवारी चालक अनुमति पत्र नभएकोमा १ हजार राजस्व लिंदै रिक्सा छाड्ने गरेको छ । हुनत त रिक्साले बजारलाई भद्रगोल बनाएको छ । यसले ट्राफिक व्यवस्थापन र पैदल यात्रीहरुलाई सास्ती थपेको छ । यता रिक्सा बढ्नु र बजार अस्त व्यस्त हुनुमा सरकार नै दोषी भएको चितवन रिक्सा व्यवसायी संघका अध्यक्ष विरेन्द्र लामिछाने बताउँछन् ।

‘ पहिला भरतपुर उप–महानगरपालिका, चितवनका यस सम्बन्धित प्रसासनहरु र हामी बिच ९१२ रिक्सा हटाई ३०४ विधुतीय रिक्सा ल्याउने सहमति भाको थियो तर पछि यातायात कार्यालयले नै रिक्सा लिन पाउने फर्म बाँडिदिए पछि समस्या बढेको हो’ लामिछाने भन्छन् । राज्यको निरीयताले नै रिक्सा व्यवसायी र मजदुरलाई हालको समस्या आएको अध्यक्ष लामिछानको भनाई छ । रिक्सा चालकहरुले चोक–चोकमा डिउटीमा रहने ट्राफिक पुलिसले सवारी चालक अनुमति पत्र नभएको भन्दै खाजा किन्न लगाउने, रिचार्ज कार्ड किन्न लगाउने गरेको गुनासो गरेका छन् । ट्राफिक पुलिसको लागि बिधुतीय रिक्सा चालक दुहुनो भैंसी जस्तो बन्नु परेको अखिल नेपाल विधुतीय रिक्सा मजदुर संघका जिल्ला सचिव बलराम पौडेल बताए ।

हाल करिब ५०० सय रिक्सा सवारी चालक अनुमति पत्र बिना संचालनमा रहेको र केहि चालक अनुमति पत्र लिने प्रक्रियामा रहेको रिक्सा चालकहरु बताउँछन् । प्रसासनले तोकेको भाडामा पुनर्विचार नगरे र बन्ने प्रक्रियामा रहेको सवारी चालक अनुमति पत्रको लागि निश्चित समय कुनै विकल्प नदिई अगाडि बढे आपूmहरुले आन्दोलन गर्ने अखिल नेपाल विधुतीय रिक्सा मजदुर संघका जिल्ला सचिव बलराम पौडेलले चेतावनी दिएका छन् । यि मध्ये केहिले सवारी चालक अनुमति पत्रको फारम भरेका छन् भने केहिले परीक्षा समेत दिएको व्यवसायी बताउँछन् । हाल चितवनमा करिब ८ सय विधुतीय रिक्सा संचालनमा रहेका छन् । हाल पनि प्रसासनले रिक्सा बेच्ने काम रोक्न सकेको छैन् । विभिन्न रिक्सा सोरुमबाट अहिले पनि रिक्साहरु बिक्रि भईरहेका छन् । यसले गर्दा चितवनमा अझै विधुतीय रिक्सा बढ्ने पक्का छ ।