धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते

धनुषा/धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गणेशमान चारनाथ ४ पोर्ताहामा रहेको चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएका हुन् ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।