स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ५ जना पक्राउ

काठमाडौं/स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ सहित एक जना नेपाली र ४ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक रहेका छन् ।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँसहित उनिहरुलाई पक्राउ गरेको हो ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गरेको थियो । त्यस क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याइएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।