समयमा विभेद गरिएको भन्दै सांसद महतलले सभामुखलाई बुझाए ताला र चाबी

काठमाण्डौ/बोल्नका लागि कम समय दिइएको भन्दै जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र बहादुर महतले सभामुखलाई ताला र चाबी बुझाएका छन्।

महत माओवादी केन्द्रका सांसद हुन् । माओवादी केन्द्रबाटै सांसदमा निर्वाचित अग्निप्रसाद सापकोटा सभामुख छन् । सांसदहरुलाई बोल्न दिँदा समयमा विभेद गरिएको भन्दै सांसद महतलले सभामुखलाई ताला र चाबी बुझाएका हुन् ।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बोल्न सांसदहरुलाई समय निर्धारण गरिएको छ । पूर्व प्रधानमन्त्री र राष्ट्रिय दलका संसदीय दलका नेतालाई समय निर्धारण नगर्ने अभ्यास छ । यही अभ्यासप्रति आक्रोश पोख्दै उनले भने, ‘गाली गर्न ३ घण्टा, कर्णालीका कुरा सुन्न ३ मिनेट ?’

बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले करिब ३ घण्टा बोलेका थिए ।

‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिराछ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु’, महतले संसदमा भने, ‘त्यसो भएको हुनाले उहाँहरुले धित मरुञ्जेल गाली गर्नुहुन्छ । फेरि, धित मरेपछि अवरोध गर्न खोज्नुहुन्छ । ताला लगाउन खोज्नुहुन्छ । त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला । त्यसपछि हामी बोल्नेबेला ताला चाबी लगाइदिनुहोला ।’