भरतपुरमा अन्तरजातीय विवाह गर्ने ३ जाेडीलाई सम्मान

चितवन । भरतपुरमा अन्तरजातिय विवाह गर्ने ३ जोडीलाई सम्मान गरिएको छ । भरतपुर महानगरपालिका अन्तर्गतकाे दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिले बिहीबार सम्मान गरेको हाे ।
भरतपुर महानगरपालिका वडा नं. ११ का सुरज परियार अनुमाया कुमाल, भरतपुर १३ का राजेश विक सन्ध्या तामाङ र भरतपुर २ का बद्रि बोहरा सृजना विश्वकर्माको जोडीलाई एक कार्यक्रमका विच नगद १ लाख रुपैंया सहित सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरका कार्यबाहक प्रमुख पार्वती शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी र भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेल विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै कार्यबाहक नगरप्रमुख पार्वती शाहले आफ्नो घरबाटै छुवाछुतको अन्त्य गर्न शुरुवात गर्नुपर्ने बताउनुभएको थियो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जातिय छुवाछुत अन्त्यका लागि बाहुन जातिका पुजारीहरुबाट शुरु गर्नु पर्ने बताउनु भयो । प्रमुख सुवेदीले यस्ता कार्यक्रमले पनि जातिय विभेद हटाउन सहयोग पुग्ने बताउनु भयो । भरतपुर महानगरपालिका अन्तर्गत दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिले यस अघि पनि ३ जोडीलाई सम्मान गरेको थियो ।
कार्यक्रममा उपेक्षित उत्पीडित दलित वर्ग विकास समितिका पुर्व कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, भरतपुर महानगरपालिका अन्तर्गत सामाजिक विकास अधिकृत शान्ता पौडेल अतिथी रहनु भएको कार्यक्रममा भरतपुर वडा नं. १० की वडा सदस्य माया नेपालीले स्वागत मन्तव्य दिनु भएको कार्यक्रम भरतपुर महानगरपालिका अन्तर्गत दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिका संयोजक चक्र रुचालको अध्यक्षतामा भएको थियो । भरतपुर महानगरपालिकाका सामाजिक परिचालक शुकदेव ढकालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।