दाङमा डुबेर दुई जनाको मृत्यु

दाङ/नुहाउने क्रममा डुबेर दाङमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाको १५ वर्षीय गौरव सुवेदीको नुहाउने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका सुवेदी डुबेको अवस्थामा मृत फेला परेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर स्थानीय ३० वर्षीया विमला घर्तीमगरको मृत्यु भएको छ । बिहीबार बिहान जलाशयमा नुहाउन गएको बेला उनी चिप्लिएर डुबेकी थिइन् । दाङका प्रहरी प्रवत्ता मुकुन्द रिजालका अनुसार उनको शवको पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

त्यस्तै बवई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोर बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजेतिर बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका-१० नारायणपुरका १६ वर्षीय प्रसान्त वली बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको छ।