१६ महिने बालकको चक्कु हानी हत्या

स्याङ्जा/स्याङ्जाको वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको १६ महिने छोरा साइमन गुरुङको चक्कु प्रहार गरी हत्या भएको छ ।

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

‘दिउँसो १ बजे चक्कु प्रहार भएको हो, तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेका थिए’ अधिकारीले भने, ‘घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते छिन्, उनको अवस्था मध्यम छ ।’

प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । अधिकारी भन्छन्, ‘यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ, स्पष्ट हुन केही समय लाग्छ ।’