नारायणीमा डल्फिन भेटियो

चितवन/नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने क्रममा शुक्रबार भेलौजी भन्ने स्थानमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्ष अगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपंक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ ।

जलपंक्षी गणना गरिरहेका टेक महतोले डल्फिनको फोटो खिच्न भ्याएका हुन् । ‘त्रिवेणीभन्दा केहीमाथि जलपंक्षी गणना गर्दै गर्दा पानीमा डल्फिन खेल्दै गरेको देखियो । मसँग क्यामरा थियो । क्यामरामा कैद गरिहालेँ’, उनी भन्छन्, ‘डल्फिन देख्न सजिलो छैन । यसअघि तीन वर्ष अघि देखेको थिएँ ।’

२०७५ सालमा नारायणी नदीमा दुई वटा डल्फिन फेला परेका थिए । घडियाल गोहीको वासस्थान अनुगमन गर्ने क्रममा फेला परेका गोहीको फोटो खिच्न भने सकिएको थिएन । त्यसपछिका वर्षहरू नदीमा डल्फिन देखिएको थिएन ।