लायन्सचोकको खाजा घरभित्र यौन धन्दा, ग्राहक सहित तीन जना पक्राउ

चितवन/मानव बेचबिखन मुद्दामा संलग्न भएको आरोपमा नारायणगढबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ बस्ने ४२ वर्षीय भोजबहादुर तामाङ र उनकी श्रीमती ३४ वर्षीय बिपना तामाङ रहेका छन् । त्यस्तै होटलमा ग्राहक बनी गएका बारा जिल्लाको बारागढी गाउँपालिका–६ सिहसनी बस्ने २८ वर्षीय राजेश चौधरी गरी तीन जना पक्राउ परेका हुन् ।
भरतपुर महानगरपालिका–२ लायन्स चोक स्थित विकास खाजा घरमा महिलालाई राखी यौन धन्दामा संलग्न गराउने कार्य भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले उक्त क्षेत्रमा अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उक्त खाजा घरमा एक महिला होटेलको ग्राहक सिहसनी घर भएका २८ वर्षका राजेश चौधरीसँग यौनकार्यमा संलग्न गराएको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।

अनुसन्धानको क्रममा होटल सञ्चालक तामाङ दम्पतीले दुई महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाइलगायतको काम दिन्छु भनी विभिन्न प्रलोभनमा पारी ग्राहकसँग यौनकार्यमा संलग्न गराउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । चितवन प्रहरीका अनुसार घटनामा संलग्न पीडित महिलाको भने सकुसल उद्धार गरिएको छ ।

उनीहरुलाई असोज ३ गते जिल्ला पहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । त्यस्तै हाल चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।