देवघाट ठीमुरा जोड्ने भत्किएको पुलबाट त्रिशूली नदीमा खस्दा एकको मृत्यु दुई बेपत्ता, ७ घाइते

चितवन/बैशाख १२/भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट जोड्ने पुलको काम गर्दै गरेका करिब एक दर्जन मजदुर त्रिशूलीमा खस्दा एक जनाको घटनास्थलबाट उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।
घटनामा थप ७ जना गम्भीर घाइते भएका छन् भने दुईजना बेपत्ता भएका छन् । तीन जना मजदुरको भने शकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको शकुसल उद्धार गरिएको र उद्धार गरिएकालाई भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको एसपी अधिकारीले जानकारी दिए। बेपत्ताको खोजी थालिएको एसपी अधिकारीले बताए ।
यता, डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर नदीमा खसेको जानकारी दिए। पुल निर्माणमा खटीएको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर काम गरेको जानकारी दिए । ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ। स्मरण रहोस् निर्माणाधीन उक्त पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो।