देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

काठमाडौँ/बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ ।

बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२ सहित देशभर ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

उपत्यकामा अझ खतरा
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका ५७ जना र ललितपुरका पाँच जना गरी कुल ६२ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका एक जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुई र ललितपुरका दुई जनामा कोरोना पुष्टि भएको जानकारी उहाँले दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँका एक, स्टार अस्पतालमा काठमाडौँका एक र ललितपुरका दुई, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ११ र डीआईडीएल प्रयोगशालामा काठमाडौँका एक जनामा कोरोना देखिएको हो । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ३५९ को पीसीआरबाट गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको छ ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार १७४ रहेको बताउँदै डा.गौतमले पछिल्लो २४ घण्टामा थप १३० जना उपचारपछि निको भएर डिस्चार्ज भएको बताउनुभयो । यो सहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १५ हजार १५६ पुगेको छ । बुधबार देशभरका क्वारेन्टाइनमा नौ हजार ९२५ जना व्यक्ति छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।