प्राविधिक क्षेत्रका कर्मचारी धेरै भ्रष्ट

काठमाडौं/अख्तियारले एक महिनाको अवधिमा विशेष अदालतमा मुद्दा दर्ता गरेकोमध्ये विशेष गरी प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारी बढी भ्रष्ट रहेको पाइएको छ । अख्तियारले गत २७ जेठदेखि १४ साउनसम्म प्राविधिक क्षेत्रका ११ कर्मचारीविरुद्ध अकुत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गरेको छ । उनीहरूले कुल २७ करोड १९ लाख ५ हजार ११९ बराबर स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको पाइएपछि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

धेरैले सरकारी पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति कमाएको देखिन्छ । प्राविधिक क्षेत्रका कर्मचारीले अवैध कोटेसन तयार पार्ने, आयोजनाको सुरुवातदेखि अन्तिममा बिल फरफारक गर्ने समयमा समेत उनीहरूले घुस लिने गरेको देखिन्छ । अख्तियारले स्रोत देखाउन पटक पटक आग्रह गर्दा समेत उनीहरूले स्रोत खुलाउन नसकेको अध्ययनबाट खुलेको छ ।

विशेष गरी प्राविधिक कर्मचारीले नक्कली कागजात बनाउन आफंै लगाउने र सोबापत पैसा माग गरेको पाइएको छ । अख्तियारले अकुत सम्पत्ति कमाएको अभियोग लागेका सिनियर डिभिजनल इन्जिनियर तथा प्राविधिक कर्मचारीका आफन्त, नातागोताको समेत सम्पत्ति छानबिन गरेको छ । यस्तै, साली नाता पर्ने भन्दै कुनै साइनो तथा सम्बन्ध नै नभएका व्यक्तिको नाममा समेत अवैध तरिकाले कमाएको पेसा राखेको पाइएको छ ।

वैध रूपमा गरेको आम्दानीको तुलनामा उनीहरूले गरेको खर्च तथा सम्पत्तिको स्रोतसमेत देखाउन नसकेका कारण अख्तियारले ती कर्मचारीको सम्पत्ति अवैध रहेको ठहर गरेको थियो । अख्तियारले गत २७ जेठमा नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

११ जनाविरुद्ध २७ करोड १९ लाख ५ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा

अख्तियारले २५ असारमा सडक विभागअन्तर्गत हाल मध्यपहाडी पश्चिम लोकमार्ग सडक आयोजना तुल्सीपुरमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र शाक्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । शाक्यले पदको दुरुपयोग गरी २ करोड २५ लाख ४ लाख १० हजार बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । शाक्यले १०५ वटा नक्ककली कोटेसन बनाई भ्रष्टाचार गरेको पाइएको छ ।

शाक्यले आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको र आफूलगायत श्रीमती मिथिला शाक्यका नाममा जग्गा खरिद तथा बैंक वित्तीय संस्थाहरूमा नगद जम्मा, छोरीहरू ज्योत्सना शाक्य र उन्नति शाक्यको नाममा सम्पत्ति जोडेका छन् । अवैध रूपमा आर्जन गरेको पैसाले विदेश तथा स्वदेशमा अध्ययनमा खर्च, सेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दती खाता खोली रकम जम्मा गरेको पाइएको छ ।

त्यस्तै, अख्तियारले खानेपानी तथा ढल व्यवस्थापन विभाग क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालयका नेपालगन्जका सिनियर डिभिजनल इन्जिनियर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ । उनीविरुद्ध ३ करोड १० लाख २७ हजार १५३ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ । आयोगले २२ असारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागका तत्कालीन सुपरिटेन्डन्ट इन्जिनियर चन्द्रनारायण यादवविरुद्ध अकुत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले यादवविरुद्ध १ करोड ८५ लाख ११ हजार ७२८ बराबरको अवैध सम्पत्ति कमाएको अभियोग लगाई मुद्दा दायर गरेको छ ।

२२ असारमा आर्थिक अनियमितताको अभियोगमा ललितपुरको कोन्जोस्योम गाउँपालिकाको प्राविधिक इन्जिनियर शिरोमणि ढकालसहित पाँच जनाविरुद्ध १५ लाख ५७ हजार ९ सय ८२ विगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले २१ असारमा गते नेपाल बैंक लिमिटेड डिल्लीबजारका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालाविरुद्ध ५४ लाख ८४ हजार ४५ बराबरको आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

१९ असारमा सडक विभागका गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाटका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४८० बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

असार १६ गते अख्तियारले नेपाल विद्युत् प्राधिकरणका अवकाश प्राप्त फोरमेन टहलबहादुर कार्कीविरुद्ध १ करोड ९ लाख ८७ हजार ६५८ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । १६ असारमा खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरीका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्यविरुद्ध १० करोड ७७ लाख ५० हजार ४५३ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

१४ साउनमा दैलेख, भगवतीमाई गाउँपालिका–३ सान्टडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपश्चात् भुक्तानीमा सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका सब–इन्जिनियर रञ्जितकुमार श्रेष्ठ र वीरेन्द्र चन्दले सेवाग्राहीसँग घुस लिएको अभियोगमा ४५ हजार बिगो दाबीसहित मुद्दा दर्ता भएको छ ।

अख्तियारले दायर गरेको मुद्दाको प्रकृति हेर्दा अधिकांशले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न कम्पनीको सेयर खरिदमा प्रयोग गरेको पाइएको छ । यस्तै, धेरैले सवारीसाधन तथा घर जग्गा खरिदमा गैरकानुनी रूपमा आर्जन गरेको रकम खर्च गरेको पाइएको छ ।

सरकारी सेवामा प्रवेश गरेदेखि जाँच अवधिसम्मको गणना गर्दा अधिकांशले श्रीमती, छोराछोरी र सालीको नाममा समेत कारोबार गरेको, घर जग्गा खरिद एवं सेयरमा लगानी गरेको देखिएको छ । उनीहरूले अवैध रूपमा कमाएको पैसा आफ्नो नाममा भन्दा पनि आफन्तको नाममा राखेको पाइएको छ ।

अब स्रोत नखुलेको रकमसहित भेटिए अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकम लिएर हि“डे तुरुन्त नियन्त्रणमा लिएर अनुसन्धान गर्ने प्रक्रिया थालेको छ । अख्तियारले अब सूचनाकै आधारमा सरकारी कर्मचारी बाटोमा हि“डिरहेको अवस्थामै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

अख्तियारले बाँके राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई सोमबार स्रोत नखुलेको ८ लाख ९८ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ । उनीहरूलाई सैनामैना नगरपालिका–१० रूपन्देहीबाट अख्तियारले नियन्त्रणमा लिएको हो । ३ लाख ४८ हजार रुपैयाँ नगद र ५ लाख ५० हजार विभिन्न बैंकको भौचरसहित उनीहरूलाई पक्राउ गरेको हो

केही दिनअघि मात्रै दाङ तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय स्रोत नखुलेको १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँसहित पक्राउ परे । आयोगले उपाध्यायलाई स्रोत नखुलेको रकम लिएर हि“डेको अवस्थामा शुक्रबार नागढुंगाबाट पक्राउ गरेको हो ।

उपाध्याय चढेको बा२झ ४०९९ नम्बरको सरकारी गाडीलाई चन्द्रागिरी–२ नागढुंगामा रोकी चेकजाँच गर्दा उनको साथबाट १ लाख २४ हजार ७ सय ५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटको १३ लाख २४ हजार ४६ रुपैयाँको रसिद गरी १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँ बरामद गरेको थियो ।
राजधानीपत्रबाट