विनासकारी हावाहुरीले भरतपूर र गैंडाकोटमा ३ को ज्यान लियो, चार घाईते

चितवन/आज साँझ आएको विनाशकारी हावाहुरीले ढालेको रुखले च्यापिएर चितवनको भरतपूर महानगर वडा नं १ आँपटारी नजिकैको नारायणघाट-देवघाट सडकमा एक जनाको मृत्यु भएको छ। भरतपूर १ आँपटारी बाट देवघाट जाने बाटोमा आज साझँ ५ : ४५ बजे आएको हावाहुरीले ढालेको सालको रुखले च्याप्दा ना ३ त ३४२३ नम्बरको ट्याक्टर मुनी ओत लागेर बसेका भरतपुर महानगरपालिका १२ बस्ने २९ बर्षिय राम बहादुर विकको मृत्यु भएको हो ।

उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रुखले च्पाप्दा अन्य चार जना घाईते भएका छन् । घाइते हुनेहरुमा भरतपुर १२ कै ३४ बर्षिय सुरेश बि.क, ३६ बर्षिय दीपक कुमाल, ३१ वर्षीय प्रदिप शर्मा र चालक २६ बर्षिय शम्भु खड्का रहेका छन् । उनिहरुको अहिले मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
उनिहरु सडक मर्मत गरिहरेको अवस्थामा पानीसंगै हावाहुरी आएपछि ट्याक्टर मुनी ओत लागेर बसेका थिए । यता, आज आईतवार साँझ आएको हावाहुरीसहितको वर्षाले खोरमा दाना दिँदै गरेका गैँडाकोट नगरपालिका ८ का ३५ वर्षीय काशिराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
साँझ हावाहुरी चलिरहेको समयमा कुखुरालाई दाना दिने क्रममा कुखुराको खोरको भित्तो भत्किँदा उनीहरुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।