चितवनका अर्यालको कोराना भाइरसको कारण लन्डनमा मृत्यु


चितवन र बेलायतमा कोरोना भाइरसको संक्रमणबाट फेरि अर्का नेपालीको मृत्यु भएको छ । लण्डनको साउथ इष्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्यालको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । उनको गत सोमबार नै मृत्यु भएको थियो । परीक्षणका क्रममा कोरोना संक्रमित रहेको पुष्टि भएको हो ।
बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी जानकारी दिएका थिए ।
दुई दशकभन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले बताएको छ।
केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो। स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो ।
चितवन पुख्र्यौली घर भएका मृतक अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए। पछिल्लो समय उनी एकाउन्टिंग फर्ममा कार्यरत थिए । परिवारका सदस्यको भने स्वास्थ्य अवस्था सामान्य छ ।
यसअघि गत साता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।