कोरोना कहर : धमिलो पानीमा माछा मार्ने रहर

विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसको प्रकोप र सन्त्रासले मानिसहरुलाई हायलकायल बनाइरहेको यसावस्थामा नेपालमा भाइरस प्रवाहित नहुँदै मास्क र सेनिटाइजर जस्ता सामानमा त भयो भयो, दैनिक उपभोग्य वस्तुमा समेत कालोबजारी बढ्न थालेको बुझिन्छ ।
हरेक नागरिकले संयमता र अनुशासन अपनाउनुपर्ने यस समयमा धमिलो पानीमा माछा मार्न चाहने कुत्सित भावना भएका व्यक्तिहरुले अत्यावश्यक दैनिक उपभोग्य सामानहरुमा कालोबजारी गर्ने उद्देश्यले सामानहरु लुकाउने, बढी मूल्य लिने, स्टक सकिएको भनी म्याद सकिएका सामानहरु बेचबिखन गर्ने जस्ता गैरकानुनी कार्य गरेको भन्ने सूचना प्राप्त भई गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ । बजारमा हुन सक्ने गैरकानुनी कार्य नियन्त्रणका लागि आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन उद्योग वाणिज्य संघ लगायत बजार सम्बद्ध संस्थाहरुलाई कार्यालयले अनुरोध गरेको छ ।
कुनै पनि व्यक्तिले आफूले पनि चाहिने भन्दा बढी खरिद गरी सञ्चित नगर्न र कसैले त्यसरी बढी खरिद तथा सञ्चित गरेको, एउटै ग्राहकलाई आवश्यक भन्दा बढी सामान नबेच्न, बिक्रेताहरुले सामान लुकाउने, बढी मूल्य लिने, म्याद सकिएका सामानहरु बिक्री वितरण गर्ने गरेको पाइएमा स्थानीय सरकार, नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा सूचना दिन आम उपभोक्ता लगायत उपभोक्ता सम्बद्ध संस्थाहरु र सबै सचेत नागरिकहरुमा अनुरोधसहित जिल्ला प्रशासन कार्यालय, चितवनको तर्फबाट आज आइतबार अत्यन्त जरुरी सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘जिल्लास्थित सरकारी निकायहरु र स्थानीय सरकार समेतबाट घोषित तथा अघोषित रुपमा बजार अनुगमन भइरहेको र अनुगमनका क्रममा कानुन विपरीत कार्य भए, गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा सूचित गरिन्छ ।’
अहिले कोभिड १९ नामक संक्रामक रोग विस्तार हुन नदिन अन्तर्राष्ट्रिय स्तरमा मानिसहरुको आवागमनलाई थप नियमन गरिएको तर वस्तु तथा सेवाको आयात निर्यातमा कुनै परिमाणात्मक बन्देज नलगाइएको बताउँदै जिल्ला प्रशासन कार्यालय, चितवनले भनेको छ, ‘वर्तमान र निकट भविष्यमा समेत आयात निर्यातमा असर नपर्ने र बजारमा वस्तु तथा सेवाको उपलब्धतामा कुनै कमी नहुने व्यहोरा सबैमा विश्वास दिलाउन चाहन्छौं ।’