अवलोकनकर्ताको चाप बढेसँगैं रत्ननगर महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुने


चितवन /रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पूर्वीचितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी १०औँ रत्ननगर महोत्सव दुई दिन थपिएको छ ।
निरन्तरको वर्षाका कारण माघ ३ गते शुक्रबार महोत्सव प्रभावित भएपछि समयावधि दुई दिन थप गरिएको हो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीकाअनुसार महोत्सव दुई दिन थप गर्दै माघ ९ गतेसम्म सञ्चालन हुनेछ । पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको भएपनि दर्शकको चाप र प्रदर्शकको आग्रहका कारण महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुने रेग्मीको भनाइ छ । रत्ननगर महोत्सवमा अवलोकनकर्ताको चाप बढ्दै गएका कारण महोत्सव थपिएको उल्लेख गर्दै रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले दैनिक ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने गरेको बताए । त्यस्तै, रत्ननरको सौराहा चोकमा जारी चिकेन एण्ड एग फुड फेष्टिवलको समय समेत दुई दिन थप गरिएको छ । पुस २९ गतेदेखि माघ ४ गतेसम्म तोकिएको फेष्टिवल वर्षात्कै कारण माघ ६ गतेसम्म थप गरिएको फेष्टिवलका संयोजक ज्ञानबहादुर विसुरालले बताए । महोत्सवको थप गरिएको अवधिमा जनप्रतिनिधि र महोत्सवको स्टेरिङ कमिटीबीच डोरी तान्ने तथा पूर्वी चितवन स्तरीय व्याडमिन्टन प्रतियोगिता तथा पत्रकार र महोत्सवको स्टेरिङ कमिटीबीच कबड्डी प्रतियोगिता गर्न लागिएको खेलकुद व्यवस्थापन समितिका संयोजक दिनेश कट्टेलले जानकारी दिए । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिए । सो महोत्सव अन्तरतग राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित ५२१ वटा स्टल राखिएको खनालले बताए । पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको मूल संयोजक रेग्मीले बताए ।