रत्ननगर महोत्सव : दुई लाख ७० हजारद्वारा महोत्सवको अवलोकन

चितवन/०५ माघ/माघ ९ गतेसम्म सञ्चालन हुने दशौँ रत्ननगर महोत्सवमा पछिल्लो समय दर्शकको उपस्थिति उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । दुई दिनको झरीपश्चात दिन घमाएका कारण समेत महोत्सव अवलोकनका लागि दर्शकहरुको सङ्ख्या बढ्दै गएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए ।
रत्ननगर नगरपालिकाको टिकौली चौरमा आयोजना भइरहेको महोत्सवको आइतबारसम्म आइपुग्दा अवलोकन गर्ने दर्शकको सङ्ख्या दुई लाख ७० हजार भन्दा बढी पुगेको रेग्मीले बताए । आइतबार मात्रै २५ हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका रेग्मीले बताए । सोमबार प्रमोद खरेलको प्रस्तुति रहने कारण सोमबार महोत्सव अवलोकनका लागि ५० हजार भन्दा बढी दर्शकहरु सहभागी हुने आयोजकको अपेक्षा रहेको छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिए । सो महोत्सव अन्तर्गत राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित ५२१ वटा स्टल राखिएको खनालले बताए ।
पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको मूल संयोजक रेग्मीले बताए ।

चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार
रत्ननगर महोत्सव अन्तर्गत सम्पन्न भएको चित्रकला तथा मूर्तिकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । महोत्सवअन्तर्गत पुस २९ गते भएको प्रतियोगिताका विजेताहरुलाई आइतबार महोत्सवको दशौँ दिनमा पुरस्कार वितरण गरिएको हो ।
सो प्रतियोगितामा विजयी भएका प्रतिस्पर्धीहरुलाई रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक राजराम रेग्मी, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, प्रतियोगिता संयोजक कविन घिमिरे, सल्लाहकार योगेश खनालले पुरस्कार प्रदान गरेका हुन् । सो प्रतियोगितामा बछौलीकी प्रियङ्का चौधरी पहिलो, जिरौनाका विश्व श्रेष्ठ दोस्रो, जिरौनाकै कृष्ण लामा तेस्रो तथा पदमपुरकी अञ्जु गुरुङ र सुब्बा चोकका अभिषेक श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन् । विजेताहरुलाई नगद, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको कार्यक्रम संयोजक कविन घिमिरेले जानकारी दिए ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पूर्वीचितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी १०औँ रत्ननगर महोत्सवमा आइतबार तृष्णा गुरुङ, सुरेन्द्र भण्डारी, डिबि लोप्चन तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । महोत्सव अन्तर्गत सोमबार प्रमोद खरेलको विशेष प्रस्तुति रहने श्रेष्ठको भनाइ छ । प्रमोदसँगै महोत्सवमा सोमबार अन्डरग्राउण्ड डान्स ग्रुप र स्थानीय कलाकारको प्रस्तुति रहने श्रेष्ठले बताए ।