उबासंघ चितवनको निर्वाचन शुरु : दुबै प्यानलका उमेदवारको आ आफ्नै जीत सुनिश्चित भइसकेको दाबी, परिणाम आजै आउने

चितवन/उद्योग वाणिज्य संघ, चितवनको आज (मंगलबार) निर्वाचन सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भएको निर्वाचन बेलुका ५ बजेसम्म चल्ने छ । नयाँ नेतृत्व छनौटको लागी हुने निर्वाचन संघकै परिसरमा विद्युतीय उपकरणबाट भइरहेको हो ।
यसपटक निर्वाचनमा दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्यानलको नेतृत्व राजु श्रेष्ठले गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगाएतका अन्य दल निकट व्यवसायिहरुको प्यानलको नेतृत्व ज्ञानेन्द्रमान शाक्यले गरेका छन् ।
यसपटक निर्वाचनमा कुनै राजनीतिक रङ घुस्न नदिने बताइको थियो । तर अलोकतान्त्रिक शैली अपनाउँदै गोलाप्रथाबाट उम्मेद्वार चयन गरेसँगै त्यसको विरोध स्वरुप अन्ततः लोकतान्त्रिक प्यालनलबाट अध्यक्षमा शाक्यले नेतृत्व गर्न पुगेका हुन् । अध्यक्षका आकांक्षी राजु श्रेष्ठ र चुननारायण श्रेष्ठबीच केही पूर्वअध्यक्षहरुले गोलाप्रथाबाट अध्यक्षका लागि उम्मेद्वार टुङ्गो लगाएपछि आफूलाई ट्रयापमा पारिएको भन्दै चुन नारायण श्रेष्ठ पनि लोकतान्त्रिक प्यानलको समर्थनमा उभिएका छन्।
२०७६–७८ को दुई वर्ष कार्यकालको लागि हुन लागेको निर्वाचनमा राजु श्रेष्ठको पक्षमा एक उपाध्यक्ष र केही सदस्यहरु मात्रै आफ्नो पक्षका छन् । उनको प्यानलमा रहेका उम्मेद्वारी दिएका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चुननारायण श्रेष्ठ, उपाध्यक्षहरु सुमन कुमार श्रेष्ठ र इ.भोजराज कौडाल अन्ततः शाक्यको प्यानलमा मिसिन पुगेपछि शाक्य बलियो भएका हुन् । शाक्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका विष्णुप्रसाद कँडेलले चुननारायण श्रेष्ठलाई समर्थन गरेपछि श्रेष्ठ निर्विरोध नै भएसँगै शाक्यको पक्षमा माहोल बन्दै आएको हो ।
शाक्यको प्यानलबाट उद्योगतर्फको सदस्यका लागि अशोक अधिकारी, ई.कृष्ण रिजाल, विनोद पौडेल, योगिता पिया, लिलबहादुर क्षेत्री र सोमप्रसाद काप्री चुनावी मैदानमा उत्रिएका छन् । वाणिज्यतर्फको सदस्यका लागि आनन्दराज राउत, बद्री पौडेल, लक्ष्मी रिमाल पौडेल र राजेन्द्र सिग्देल चुनावी मैदानमा उत्रिएका छन् भने महिला तर्फ विमला अधिकारी चुनावी मैदानमा उत्रिएकी छिन् ।
यस्तै श्रेष्ठको प्यानलबाट वाणिज्य तर्फको कार्यसमिति सदस्यका लागि चेतनारायण सापकोटा, थीरप्रसाद धिताल, पाण्डव ढकाल, विकास थापा, शिवप्रसाद ओझा र ज्ञानुप्रसाद न्यौपाने चुनावी मैदानमा छन् । यस्तै उद्योग तर्फको कार्यसमिति सदस्य पदका लागि भानुभक्त न्यौपाने र महिला तर्फको कार्यसमिति सदस्यका लागि रजनी मास्के चुनावी मैदानमा उत्रिएका छन् ।
दुवै पक्षका उम्मेद्वारहरु आ–आफ्नै प्यानलको जित सुनिश्चित रहेको दावी गरेका छन् ।
अध्यक्षका उम्मेद्वार ज्ञानेन्द्रमान शाक्यले व्यवसायिक हकहितका लागि आफू कटिवद्ध रहेकोले आफ्नो जित सुनिश्चित रहेको दावी गरे । उनले भने, ‘म व्यवसायीको पक्षमा सधैँ छु, व्यवसायीलाई मर्का परेको विषयमा सरकाको गलत कर निति सच्चाउन पहल गर्नेछु।’
यस्तै अध्यक्षका अर्का उम्मेद्वार राजु श्रेष्ठले संस्थापन पक्षको समर्थन र सबै व्यवसायीको सहयोगले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । उनले भने, ‘सबै व्यवसायीले मलाई समर्थन गरेका छन्, मेरो जित सुनिश्चित छ ।’