सातौं खिचरा महोत्वस भोलिदेखि


चितवन/थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा आयोजना हुँदै आइरहेको सातौं सँस्करणको ‘खिचरा महोत्सव–२०७६’ भोलि ९आइतबार०देखि सुरु हुँदैछ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।

महोत्सवको एक भव्य समारोहकाबीच पूर्व उपप्रधानमन्त्री एवंम नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले समुद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक चौधरीले जानकारी दिए । । महोत्सवको समुद्घाटन अघि वृहत शोभा यात्रा निस्किने छ । खैरहनी नगरपालिका वडा नं।८ मगनीचोकदेखि महोत्सव परिसरसम्म विविध जातजाति, संघसंस्थाका झाँकी एवंम भेषभुषासहितको शोभा यात्रा निस्किने प्रचारप्रसार समितिका संयोजक राजु चौधरीले जानकारी दिए ।

त्यस लगत्तै दिउँसो १२ बजे महोत्सवको भव्य समुद्घाटन गरिने छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ ले महोत्सव आयोजना गरेको हो । यस महोत्सवको मुख्य उद्देश्य थारु समुदायको सँस्कृतिको संरक्षण गर्नु रहेको आयोजकको भनाई छ । सोही अनुरुप महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा हितको साँस्कृतिक कार्यक्रमलाई जोड दिईएको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । उनले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै मिस नेपालद्धारा थारु भेषभुषासहितको पहिरनमा मेला अवलोकन, मिस्टर एण्ड मिस थारुको फेसन शो र खुल्ला नृत्य प्रतियोगिता राखिएको जानकारी दिए ।

महोत्सवमा यसवर्ष १५० वटा स्टर रहने छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा बाल उद्यान, मोटर बोटिङको व्यवस्था समेत गरिएको छ ।

यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।