अवैध उत्खननको विरोध गर्ने युवकको एकाबिहानै टिपरले किचेर ‘हत्या’


शैलेन्द्र महतो/जनकपुर/अवैध ढंगले खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका(५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको छ।

आज ९शुक्रबार० बिहान अन्दाजी पाँच बजे छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ। टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। घटना पश्चात् टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार महतो भारतमा ईन्जिनियरिङ पढ्दै थिए।
अहिले घटनास्थलमा स्थानीय भेला भएर घटनाको विरोध गरिरहेका छन्। गिट्टीबालुवा उत्खनन गरिरहेकै ठाउँमा उनको हत्या गरिएको आरोप स्थानीयले लगाएका छन्।

दीलिपले पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननको विरोध गर्दै आएका थिए। सोही कारण क्रसर सञ्चालकले उनको नियोजित रुपमा हत्या गरेको स्थानीयले बताएका छन्।

घटनाको विरोधमा स्थानीयले मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।