देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा मोदीको पुत्लादहन

 

चितवन । भारतीय विस्तारवादी सत्ताले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भुमि अतिक्रमण गरेको विरोधमा नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवनले चितवनमा मोदीको पुतला दहन गरेका छन्।
भारतीय विस्तारवाद र नेपाल सरकारको विरुद्धमा चर्का नारा जुलुससहित नारायणगढको पुल्चोकबाट सुरु भएको जुलुस लायन्सचोकमा पुगेर नरेन्द्र मोदीको पुत्ला दहन गर्दै समापन भएको थियो ।
जुलुस शुरु हुनुभन्दा पहिला सडकको विरोध प्रदर्शनको शुरु गर्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं चितवन जिल्ला ईन्चार्ज घननाथ सापकोटाले केपी ओली नेतृत्वको नालायक र दलाल राष्ट्रघाती सरकार भारतले नेपाली भुमिमाथि नाङ्गो हस्तक्षेप गर्दा पनि मुखमा ताला ठोकेर बसेको आरोप लगाउँदै राष्ट्र संकटमा परेको बेला नेपाली जनता एकताब भई स्वाधीनताको लडाइँमा सहभागी हुनुपर्ने विचार व्यक्त गरेका थिए ।


देजमो जिल्ला सचिव मोदनाथ मरहट्टाद्वारा संचालित उक्त कार्यक्रम पश्चात नाराजुलुससहितको विरोध प्रदर्शन लायन्स चोकमा आई सभामा परिणत भएको थियो ।
सभालाई पार्टी जिल्ला सेक्रेटरी अशोक शर्माले सम्बोधन गरेका थिए । सेक्रेटरी शर्माले देशभक्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप अस्वीकार्य रहेको बताउदै लड्ने नै भए देशभक्तहरुसंग नभएर सिमनामा गएर नेपाली सार्वभौमसत्ता जोगाउन चेतावनी दिए ।
देशको सार्वभौमसत्ताको रक्षा वर्तमान केपी ओली नेतृत्वको सरकारले गर्न नसक्ने भएकाले नेकपा क्रान्तिकारी माओवादी सडकमा आर्लिएको बताउदै स्वाधीनताको लाडाइँमा हातेमालो गर्न सम्पूर्ण देशभक्त र क्रान्तिकारी जनसमुदायलाई नेता शर्माले अपिल समेत गरे । कार्यक्रममा देजमो चितवनका अध्यक्ष बाबुराम प्यासीले दलाल सत्ताको अन्त्य अवश्म्भावी छ भन्दै क्रान्तिकारी आन्दोलनको एउटै झिल्कोले संसदीय व्यवस्थाको अन्त्य हुने ठोकुवा गरे ।

विरोध प्रदर्शनको क्रममा कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, दलाल संसदीय व्यवस्था मुरदावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद, नेकपा क्रान्तिकारी माओवादी जिन्दावाद लगायतका नाराहरु लगाउदै अन्त्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरी विरोध कार्यक्रमको समापन गरिएको थियो ।