नारायणी महोत्सवमा तेस्रो दिन सात हजार भन्दा बढी दर्शक

चितवन, १७ कात्तिक । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सव मूल समितिका संयोजक रोशन राजकर्णिकारकाअनुसार आइतबार लाइभ कन्सर्ट भएकाले दर्शकको उपस्थिति उल्लेख्य भएको हो । महोत्सवको तेस्रो दिन आइतबार लोकगायक रामजी खाँण, देवी घर्ती, जादुगर बलराम सरकारले आफ्नो प्रस्तुती रखेका छन् । त्यस्तै, तृष्णा गुरुङको लाइभ म्युजिक कन्सर्टका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको चौथो दिन सोमबार प्रकाश सपुत, पूर्णकला विसी, कमेडियन राजा राजेन्द्र पोखरेललगायतका व्यक्तिको प्रस्तुती रहने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुको समेत प्रस्तुती रहने अधिकारीले बताए । तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती राखिएको राजकर्णिकारले बताए । कात्तिक २५ गतेसम्म हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको लागि काम गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग तथा स्टीमर चढ्ने सुविधा समेत रहेको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।