किन मागे नेकपाका सांसदले आफ्नै पार्टीका सञ्चारमन्त्री बास्कोटाको राजीनामा ?

काठमाण्डौँ, जेठ २५/नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज शनिबार गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै राजीनामामागेका हुन् । ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’ उनले भने । सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । ‘सञ्चारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजीनामा दिनुस् ।’ उनले भने ।
मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजीनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए ।।
मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्र समेत धरापमा पर्ने उनको तर्क थियो । प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्धरले दिएका छन् ।
कार्यक्रममा पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।