कृषि विश्वविद्यालय दाहाल परिवारको चाकडीमा

भरतपुर, शनिवार । अघिल्लो वर्ष नै सुरु गरिएको किसान कल सेन्टरलाई किसानसँगै एएफयु नारा सहित पुनर्ताजगि दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शनिवारबाट उद्घाटन गरिएको चार दिने कृषि मेलामा साच्चि कृषि तथा वन विज्ञान विश्वविद्यालय किसानसँगै हो कि प्रचण्ड सँगै मात्र हो, उद्घाटनको क्रममा सहभागि कृषकहरु बिच चर्चाको विषय बनेको थियो । यद्यपि कृषि विश्वविद्यालयको गतिविधि प्रति प्रचण्डले सार्वजनिक रुपमा नै असन्तुष्टि पोखे । ठुलो मेहनत गरेर कृषि प्रधान देशमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गरियो तर यो पनि पुरानै विश्वविद्यालयहरु कै ढर्रामा चल्यो, उद्घाटनको क्रममा विश्वविद्यालय परिसरमा सम्बोधन गर्दै उनले ले कृषि विश्वविद्यालयले दिन खोजेको नीजि कलेजको सम्बन्धन तर्फ स्पष्ट संकेत गरेको बुझिन्थ्यो । नेपालका मन्त्रालयहरु मध्ये सबैभन्दा खराब प्रस्तुति गरिरहेको कृषि मन्त्रालयको बचाव गर्दै सम्बोधनको क्रममा गलत तथ्य दिएका कारण कृषि सचिवलाई मन्चबाट नै प्रचण्डले झपारेका थिए ।
दिक्षान्त समारोहमा प्रधानमन्त्री नै चाहिँने अनिवार्य आवश्यकताले गर्दा पोहोर केपि शर्मा वलिलाई रामपुर बोलाइएको थियो तर अन्य साना ठुला सबै कार्यक्रममा प्रचण्ड नै रामपुरमा देखिन्छन् । रामपूरका पूर्व विद्यार्थी समेत रहेका प्रचण्डले शनिवार सम्बोधन कै क्रममा हिजो पढ्दा खेरि धान रोपेको र गहुँ रोपेको सम्झना ताजै रहेको समेत बताए । तर प्रचण्ड बाहेक बहालवाला गृहमन्त्री रामबहादुर थापा बादल पनि रामपुरमा नै अध्ययन गरेका हुन् । शुक्रवार र।न।पा।का मेयर नारायण वनको आमन्त्रणमा रोजगार मेला उद्घाटन गर्न आएका बादल शनिवार बिहान ११ बजे सम्म भरतपुर नै थिए । स्थापनाको १० वर्षको अवसरमा हुन गइरहेको कृषि मेलामा चितवन नै रहेका गृहमन्त्री बादल रामपुर आउनेमा सबै ढुक्क थिए तर उनलाई अन्तिम अवस्थासम्म पनि नबोलाइएकाले यता रामपुरमा उद्घाटन हुँदै गर्दा बादल काठमाडौंका लागि उढेका थिए ।
बादल मात्र हैन रामपुरबाट अध्ययन गरेका अन्य चितवनका नेताहरु रत्ननगर नगरपालिकाका मेयर नारायण वन, खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी समेत मेला उद्घाटन समारोहमा अनुपस्थित रहेका थिए । प्रचण्डका भाइ भएकाले नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई भने कार्यक्रममा सहभागि गराइयो । रामपूरका पूर्व विद्यार्थी नै रहेका नेकपा प्रदेश नं ३ सचिव आनन्द पोख्रेललाई विश्वविद्यालयले बोलाउने कष्ट गरेन, नेकपा समर्थित रामपुरका एक पूर्व विद्यार्थी मेला अवलोकनको क्रममा चर्चा गर्दै थिए । मेलामा सम्बोधन गर्ने कुनै कार्यक्रम नभए पनि उद्घाटनको क्रममा पहिलो लहरमा नै प्रचण्ड पुत्रि रेनु दाहाल र प्रचण्डका भाइ नारायण दाहाललाई बसाइएको थियो ।
बिना कुनै तयारी विश्वविद्यालयमा गर्मि विदा भएको बेला मेला आयोजना भएकाले निकै गर्मिको महसुस स्टलहरु राख्नेहरु र मेला अवलोकन गर्न आउने कृषकहरुले गरिरहेको स्पष्ट बुझ्न सकिन्छ । अघिल्लो वर्ष सिनेटमा विकास खर्च कोट्याउन पनि नसकेर प्रम ओलिले पदाधिकारीहरुको हुर्मत लिएकाले यो आर्थिक वर्ष सकिँदै गर्दा धेरै रकम बाँकि नै रहेकाले निकै हतारमा निर्णय गरेर मेला आयोजना गरेको मेला स्थलभर चर्चा चलेको थियो । शनिवार उद्घाटन भएको मेला मंगलवार सम्म चल्ने बताइएको छ भने गर्मिका कारण किसानहरु उपस्थित हुन नसके विश्वविद्यालयको गाडि वरिपरि गाउँमा घुमाउने व्यवस्था गरिने बुझिएको छ ।