Breaking News

हंस सहकारीको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न

भरतपुर–२५, बयरघारी, शुक्रनगरस्थित टाइगर वाइल्ड लाइफ रिसोर्टमा भाद्र ५ र ६ गते सम्पन्न गोष्ठी संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको थियो। गोष्ठीमा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विषयगत उपसमिति तथा व्यवस्थापनतर्फका गरी २२ जनाको सहभागिता रहेको थियो।

गोष्ठीको उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा बजेट सदस्यको हित, वित्तीय अनुशासन र नियामक निकायका निर्देशनलाई आधार बनाएर तर्जुमा गरिने बताए। उनले सहकारीप्रति सर्वसाधारणको विश्वास कायम राख्न पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले दुई दिनसम्म आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम तथा बजेटको मस्यौदा प्रस्तुत गरेका थिए। पहिलो दिन नीति तथा कार्यक्रम, नियामक निकायका पछिल्ला निर्देशनको पालना अवस्था, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था तथा संस्थाको विनियम र आन्तरिक कार्यविधि संशोधनका विषयमा छलफल भएको थियो।

त्यस्तै, दोस्रो दिन आम्दानी–खर्चको अनुमान, सेवाकेन्द्रगत वित्तीय विश्लेषण, कर्मचारी उत्पादकत्व, कर्जा असुली, जोखिम व्यवस्थापन तथा जीतपुर सेवाकेन्द्रबाट कृषि व्यवसाय सञ्चालन गर्ने योजनाबारे प्रस्तुति र छलफल गरिएको थियो।

प्रबन्धक सापकोटाले प्रस्तावित नीति, कार्यक्रम तथा बजेट संस्थाको वास्तविक वित्तीय अवस्था र नियामक निकायका निर्देशनसँग मेल खाने गरी तयार पारिएको बताए। आगामी वर्ष सेवाकेन्द्रगत रूपमा नतिजा मापन, कर्मचारी उत्पादकत्व वृद्धि तथा सेवा प्रवाहलाई थप छिटो, सहज र प्रविधिमैत्री बनाउने कार्यक्रम प्रस्ताव गरिएको उनले जानकारी दिए।

गोष्ठीमा सहभागीहरूले प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमाथि खुला छलफल गर्दै विभिन्न सुझाव दिएका थिए। प्राप्त सुझावलाई समेटेर मस्यौदालाई थप परिष्कृत गरिने जनाइएको छ।

गोष्ठीमा अध्यक्ष चुकेले सहकारी क्षेत्र अहिले परीक्षाको घडीबाट गुज्रिरहेको भन्दै संस्थाको आकार विस्तारभन्दा बलियो, सुरक्षित र भरपर्दो संस्था निर्माणमा ध्यान दिनुपर्ने बताए। सदस्यको बचतको सुरक्षा संस्थाको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षलाई सुदृढीकरण, कर्जा असुली र विश्वास पुनःस्थापनाको वर्षका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले नियामक निकायका निर्देशन पूर्ण रूपमा पालना गर्दै तोकिएको समयमा विधिसम्मत निर्वाचन सम्पन्न गरी संस्थालाई सुशासनको बलियो आधारमा अघि बढाउने बताए।

लेखा तथा सुपरिवेक्षण समितिका कार्यवाहक संयोजक कृष्णहरि तिमल्सेनाले बजेट अंकको तालिका मात्र नभई वर्षभरिको वित्तीय अनुशासनको प्रतिबद्धता भएको बताए। आम्दानीलाई यथार्थपरक र खर्चलाई मितव्ययी बनाउने गरी मस्यौदा तयार गरिएको उल्लेख गर्दै उनले आन्तरिक नियन्त्रण, कर्जा वर्गीकरण, जोखिम व्यवस्थापन र नियमित सुपरिवेक्षणलाई प्रभावकारी बनाइने बताए।

कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठले संस्थाको तरलता तथा वित्तीय अवस्था सुरक्षित रहेको जानकारी दिँदै आगामी वर्ष खर्चमा मितव्ययिता र आम्दानीमा यथार्थपरकता कायम गरिने बताए। सदस्यको प्रत्येक रुपैयाँको पारदर्शी हिसाब राख्दै संस्थालाई थप बलियो पुँजी आधारमा लैजाने प्रयास गरिने उनको भनाइ थियो।

कार्यवाहक सचिव प्रा.डा. होमनाथ सापकोटाले गोष्ठीले संस्थाको नीति निर्माण प्रक्रियालाई सहभागितामूलक बनाएको बताए। गोष्ठीबाट प्राप्त सुझाव समेटेर नीति, कार्यक्रम तथा बजेटको मस्यौदा परिमार्जन गरी आगामी २३औँ वार्षिक साधारण सभामा अनुमोदनका लागि पेस गरिने उनले जानकारी दिए।

हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भरतपुर–१, शहीदचोक, नारायणगढमा केन्द्रीय कार्यालय राखी सेवा सञ्चालन गर्दै आएको छ। संस्थाले प्रधान कार्यालयसहित टाँडी, विजयनगर र जीतपुर गरी चारवटा सेवाकेन्द्रमार्फत बचत, कर्जा तथा बहुउद्देश्यीय सेवा प्रदान गर्दै आएको छ। जीतपुर सेवाकेन्द्रबाट कृषि व्यवसायसमेत सञ्चालनमा रहेको संस्थाले जनाएको छ।