Breaking News

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवालाबीच सहकार्यमा जोड

भरतपुर/मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको दिगो व्यवस्थापन र पर्यापर्यटन प्रवर्द्धनका लागि स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र केरुङ्गा उपभोक्ता समितिको आयोजनामा भरतपुर–२३ मा ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि दिगो व्यवस्थापन एवं पर्यापर्यटन प्रवर्द्धनमा स्थानीय निकाय र सरोकारवाला संघसंस्थाहरूको दायित्व र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेल, नयाँ गोरखनाथ गणका प्रमुख सेनानी (मेजर) दिनेश केसीलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस अवसरमा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले निकुञ्ज ऎन २०२९ र मध्यवर्ती नियमावली २०५२को आवस्यक संसोधन, जंगली जनावरबाट भएको क्षतिको राहतलाई वृद्धिका लागि सहयोग पुर्याउनुका साथै निकुञ्ज र स्थानीय बीचको आपसी समन्वयमा संरक्षण कार्य अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडीले मानिसले वन्यजन्तुलाई शत्रुका रूपमा नभई सहअस्तित्वका रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । वन्यजन्तु संरक्षणसँगै स्थानीय नागरिकको सुरक्षा र जीविकोपार्जनलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष दवाडीले आफ्नो वडाभित्र लामो समयदेखि बाँझो रहेका जग्गालाई उपयोगमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै भदौ मसान्तसम्म बाँझो जग्गामा खेती नगरिए वडाले आवश्यक हस्तक्षेप गर्ने बताउनुभयो । बाँझो जमिनका कारण वन्यजन्तु बस्ती तथा खेतीयोग्य क्षेत्रमा प्रवेश गर्ने जोखिम बढ्न सक्ने भन्दै दवाडीले स्थानीय स्तरमै कृषि तथा वातावरणमैत्री कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

साथै दवाडीले वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न स्थानीय तह, निकुञ्ज, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सुरक्षा निकाय तथा समुदायबीच निरन्तर समन्वय आवश्यक रहेको पनि बताउनुभयो । चितवनमा वन्यजन्तुको बासस्थान संरक्षण, पर्यापर्यटनको विस्तार र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सँगसँगै अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । वन्यजन्तु संरक्षणबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण निर्माण गर्न सके संरक्षणप्रति समुदायको अपनत्व अझ बढ्ने धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।
त्यस्तै, वन्यजन्तु बस्ती प्रवेश गर्ने सम्भावित क्षेत्रको पहिचान, जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा निगरानी प्रणालीलाई प्रभावकारी बनाउने, स्थानीय बासिन्दालाई सचेतना प्रदान गर्ने र क्षतिको न्यूनीकरणका लागि तत्काल समन्वय गर्ने संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रमको अध्यक्षता केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीले गरेका गर्नुभएको थियो । अध्यक्ष दवाडीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण कुनै एक निकायको मात्र जिम्मेवारी नभई स्थानीय समुदायदेखि सरकारी निकाय, सुरक्षा संयन्त्र, संरक्षणकर्मी र सरोकारवाला सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सबै पक्ष एकजुट भएर दीर्घकालीन योजना र व्यवहारिक कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

चितवनमा वन्यजन्तु संरक्षणसँगै पर्यापर्यटनलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोड्न सके संरक्षण र विकास दुवैलाई एकसाथ अघि बढाउन सकिने सहभागीहरूको निष्कर्ष थियो ।