Breaking News

रास्वपा वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह मनोनित

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गरिएको रास्वपाले जनाएको छ।

बैठकले पार्टी विधानको व्यवस्था अनुसार सभापतिसहित उपसभापतिद्वय डा स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहने गरी पार्टी सचिवालय पनि गठन गरेको छ।

रास्वपाले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्दै कमी कमजोरी स्वीकार गरी त्यसबाट सिकाइ लिँदै पार्टीलाई थप सुदृढ बनाउने निर्णय गरेको जनाएको छ। महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको बृहत् अध्ययन गर्ने निर्णय पनि गरिएको छ।

बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । पार्टीका अनुसार योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट गर्ने प्रक्रियाको प्रारम्भिक चरणका रूपमा यो अभियान सञ्चालन गरिनेछ ।