Breaking News

मिटरब्याज पीडितले वार्तासँगै संघर्ष जारी राख्ने, आन्दोलन रोक्नुपर्ने सरकारको सर्त

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता भएको छ । बुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् ।

वार्तामा सहभागी मिटरब्याज पीडित टोलीलाई भने आन्दोलन स्थगित गरेर काठमाडौं जान सरकारी टोली सर्त अघि सारेको छ ।

बाराको निजगढमा बुधबार मध्यराति सहमति बिनै वार्ता टुंगिएको हो । सरकारी वार्ता टोलीको नेतृत्व गरेका गृहमन्त्री सुधन गुरुङले सहमति भन्दा पहिला नै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । तर पीडितहरूले लिखित सहमति बिना आन्दोलन रोक्न अस्विकार गरे ।

त्यसपछि वार्तामा कुनै सहमति हुन नसकेको जेनजी अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन् । वार्ता असफल भएकाले आन्दोलन जारी रहने घिमिरेले बताइन् ।

पीडितका सबै माग स्वीकार गर्ने तर केही भाषा सच्याउनुपर्ने भएकाले वार्ता टोली गठन गर्ने सरकारी टोलीले प्रस्ताव गरेको थियो । साथै, अन्तिम सम्झौता काठमाडौंमा गर्नेगरी सरकारी पक्षबाट प्रस्ताव भएको वार्तामा सहभागी एक पीडितले अनलाइनखबरलाई बताए ।

‘हामीले आन्दोलन स्थगित नगरि सम्झौता नभएसम्म वार्ता र संघर्ष सँगसँगै जान्छ भनेका छौं’, मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले भने, ‘हामी सचिवालयको बैठक गरी निर्णय गर्छौं । हाम्रो संघर्ष जारी छ ।’

लिखित सम्झौतामा हस्ताक्षर नभइ घर फर्कन नसकिने पीडितहरूको मत छ ।

मिटरब्याज पीडितहरू जनकपुरबाट आफ्ना माग अघि सार्दै स्थलमार्ग हुँदै काठमाडौंको यात्रामा छन् । यसबीचमा गृहमन्त्री सुधन गुरुङ पनि उनीहरूलाई भेट्न बारा पुगेका थिए । उनी आफैं सहभागी भएर दुई चरणको वार्ता पनि भएको थियो । यद्यपि मिटरब्याज पीडितहरूसँग सहमति भने जुट्न सकेको छैन ।

हस्ताक्षर भएको मितिदेखि सम्झौता लागू हुने भएकोले हस्ताक्षर पछि मात्रै आन्दोलन स्थगित गरिने मिटरब्याज पीडितहरूले अडान राखेका छन् । गृहमन्त्री गुरुङले स्वीकार गरेको सहमति पत्र जस्ताको तस्तै हस्ताक्षर गरी आधिकारिक मान्यता दिनुपर्ने माग उनीहरूको छ ।