पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्धारा तीन स्रष्टा सम्मानित
वालिङ,(स्याङ्जा)/स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्थापित पुतलीबजार प्रज्ञा प्रतिष्ठानले तीन जना स्रष्टालाई सम्मान गरेको छ । लामो समयदेखि कला, साहित्य र सङ्गीतको क्षेत्रमा निरन्तर साधना गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्याउनुभएका असफल गौतम, अनन्तकुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाललाई शुक्रबार एक समारोहबीच सम्मान गरिएको हो ।
सम्मानित स्रष्टाहरूलाई जनही रु २० हजारसहित सम्मानपत्र र दोसल्ला हस्तान्तरण गरिएको हो । भाषा, कला, साहित्य, संस्कृति, सङ्गीतमध्ये जुनसुकै विद्यामा कलम चलाउने वा कृति प्रकाशन गर्ने स्रष्टालाई सम्मान गर्दै आइएको प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले जानकारी दिनुभयो । “तीन जनाको मूल्याङ्कन उपसमिति बनाएर स्रष्टाहरूको छनोट गरेका हौँ”, उहाँले भन्नुभयो, “उपसमितिले विभिन्न आधार बनाई सोको परिधिभित्र रहेर तीन जना स्रष्टालाई सिफारिस गरेको थियो । समितिले उक्त नाम अनुमोदन गरेसँगै पुतलीबजार प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको हो ।”
प्रज्ञा प्रतिष्ठानले विगत तीन वर्षदेखि नियमित रूपमा तीन(तीन जना स्रष्टालाई सम्मान गर्दै आइरहेको छ । प्रतिष्ठानबाट हालसम्म नौ जना स्रष्टा सम्मानित भइसक्नुभएको छ । पुतलीबजार नगरभित्र रहेर भाषा, कला, साहित्य, संस्कृति, सङ्गीतका विद्यामा योगदान दिएका स्रष्टालाई सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ । आगामी दिनमा नगरभित्रका मात्रै नभइ अन्य क्षेत्रका स्रष्टालाई पनि समेट्दै जानुपर्ने विषयमा छलफल अगाडि बढाइएको प्रतिष्ठानका कुलपति अधिकारीले जानकारी दिनुभयो ।
लामो समयदेखि साहित्यका क्षेत्रमा कलम चलाउँदै आउनुभएका पुतलीबजार-७ का सम्मानित स्रष्टा गौतमले सम्मानले थप जिम्मेवारी बोध गराएको बताउनुभयो । “प्रतिष्ठानले हरेक वर्ष तीन जना फरक विद्याका स्रष्टालाई सम्मान गर्दै आएकामा यस वर्ष युवापुस्ताप्रति राखेको भरोसालाई जीवन्त राख्नका लागि प्रयासरत रहनेछु”, उहाँले भन्नुभयो, “नेपाल वाङ्मयका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गर्नुभएकामा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दछु ।” स्रष्टा सम्मान कार्यक्रममा विभिन्न स्रष्टाले आआफ्नो रचना वाचन गर्नुभएको थियो । रासस





