चितवनका सात स्थानीय तहले ४ अर्ब ९६ करोड पाए, सबैभन्दा बढी भरतपुरलाई २ अर्ब ५ करोड
चितवन/चितवनका सात वटा स्थानीय तहले ४ अर्ब ९६ करोड ४ लाख रुपैयाँ पाएका छन् । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरण मार्फत जिल्लाका पालिकालाई सो रकम हस्तान्तरण गरेको हो । सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विषेश र समपुरक अनुदान मार्फत रकम हस्तान्तरण गर्ने गर्दछ ।
चितवनका सात वटा स्थानीय तहले समानिकरण अनुदान अन्तरगत १ अर्ब २७ करोड ४८ लाख, सशर्त अनुदान अन्तरगत ३ अर्ब ५१ करोड ९९ लाख, विषेश अनुदान अन्तरगत ७ करोड ५४ लाख, समपुरक अनुदान अन्तरगत ९ करोड ३ लाख प्राप्त गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिकालाई सबैभन्दा बढी २ अर्ब ५ करोड १७ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । उसले समानीकरण अनुदान तर्फ ३९ करोड ६५ लाख, सशर्त अनुदान तर्फ १ अर्ब ६१ करोड ७ लाख, विशेष अनुदान तर्फ २ करोड ५० लाख र समपुरक अनुदात तर्फ १ करोड ९५ लाख प्राप्त गरेको छ ।
भरतपुर महानगरपालिका पछि रत्ननगर नगरपालिकाले सबैभन्दा बढी रकम पाएको छ । रत्ननगर नगरपालिकाले ५८ करोड ३४ लाख रुपैयाँ प्राप्त गरेको छ । उसलाई समानीकरण अनुदान तर्फ १८ करोड १७ लाख, सशर्त अनुदान तर्फ ३८ करोड ७७ लाख, विशेष अनुदान तर्फ ९० लाख र समपुरक तर्फ ५० लाख रुपैयाँ बजेट निकाशा भएको छ ।
पूर्वि चितवनको राप्ती नगरपालिकाले ५३ करोड ५ लाख रुपैयाँ रकम प्राप्त गरेको छ । राप्तीले विशेष अनुदान र समपुरक तर्फको अनुदान प्राप्त गर्न सकेको छैन । उसले समानीकरण अनुदान तर्फ १६ करोड ६७ लाख र सशर्त अनुदान ३६ करोड ३८ लाख रुपैयाँ प्राप्त गरेको छ ।
माडी नगरपालिकालाई अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत ५० करोड २६ लाख रुपैयाँ प्रदान गरिएको छ । माडीले समानीकरण अनुदान तर्फ १२ करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ३९ लाख, विशेष अनुदान १ करोड ४६ लाख र समपुरक अनुदान तर्फ २ करोड ४५ लाख रुपैयाँ प्राप्त गरेको छ । उत्ता खैरहनी नगरपालिकालाई ४५ करोड ९५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । खैरहनीले सबैभन्दा बढी सशर्त अनुदान मार्फत २५ करोड ८२ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै समानीकरण अनुदान तर्फ १५ करोड ७० लाख, विशेष अनुदान तर्फ २ करोड ३८ लाख र समपुरक तर्फ १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पाँच वटा नगरपालिका माध्ये कालिका नगरपालिकाले सबैभन्दा कम रकम प्राप्त गरेको छ । कालिकाले ४४ करोड ६८ लाख रुपैयाँ मात्र प्राप्त गरेको छ । उसले विशेष अनुदान प्राप्त गरेको छैन । समानीकरण अनुदान तर्फ १४ करोड ३ लाख, सशर्त अनुदान तर्फ २८ करोड ५३ लाख र समपुरक तर्फ २ करोड १२ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले ३८ करोड ५९ लाख रुपैयाँ प्राप्त गरेको छ । उसले सबैभन्दा बढी सर्शत अनुदान तर्फ २८ करोड ३ लाख रकम प्राप्त गरेको छ । समानीकरण अनुदान तर्फ १० करोड ३० लाख र समपुरक अनुदान तर्फ २६ लाख रुपैयाँ प्राप्त गरेको छ । इच्छाकामनाले पनि विशेष अनुदान प्राप्त गरेको छैन ।





