Breaking News

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

सिमकोट,(हुम्ला)/अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल कार्यक्रम सुरु भएको छ । विद्यालय तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले एन्फाले देशभर कार्यक्रम सञ्चालन गरिरहेकामा यहाँ पनि लागू गरिएको जनाएको छ ।

अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को ‘फुटबल फर स्कुल्स’ कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको कार्यक्रमका संयोजक धीरज रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार एन्फाले केही समयअघि खुला गरेको अनलाइन आवेदनका आधारमा हुम्लाका चार विद्यालय छनोटमा परेका थिए ।

छनोट भएकामध्ये सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालय र अदानचुली गाउँपालिकाको माउन्ट एभरेस्ट एकेडेमीलाई आइतबार एक कार्यक्रमका बीच प्रतिविद्यालय २५ वटाका दरले फुटबल प्रदान गरिएको हो ।

छनोटमा परेको सर्केगाड गाउँपालिकाको हिमज्योति माविलाई आज फुटबल हस्तान्तरण गर्ने कार्यक्रम रहेको र नाम्खा गाउँपालिकाको खिरपानी आनी विद्यालयमा भने हाल पाँच जना विद्यार्थी मात्र हुँदा बन्द हुने अवस्थामा पुगेकाले फुटबल वितरण नगरिएको संयोजक रोकायाले जानकारी दिनुभयो । उक्त विद्यालयका लागि आएका सामग्री एन्फासँगको समन्वयमा जिल्लाको अर्को विद्यालयलाई प्रदान गरिने उहाँले बताउनुभयो ।

फुटबल प्राप्त गरेका विद्यालयले विद्यार्थीलाई नियमित खेल अभ्यास गराउनुपर्ने छ । यसका लागि बालमन्दिर माविले ४० जना विद्यार्थी छनोट गरी सकेको जनाएको छ । रासस