राप्ती नदी किनारमा वृद्ध मृत अवस्थामा फेला, गोहीको आक्रमणको आशंका
चितवन/चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टाका एक वृद्ध राप्ती नदी किनारमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेलहट्टा स्थित घर भएका ६० वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो । उनी जेठ १८ गते दिउँसो करिब ३ बजे घरबाट घाँस काट्न भन्दै हरियाली सामुदायिक वनतर्फ गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।
खोजिकार्यका क्रममा आज बिहान करिब ९ बजे बिहान राप्ती नदी किनारमा चोखाल मृत अवस्थामा फेला परेका हुन्। घटनापछि प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलासमा भइरहेको थियो ।
प्रहरीले नदी किनारबाट शव निकालेर हेर्दा मृतकको दुवै हात तथा दाहिने खुट्टाको भाग गोहीले खाएको जस्तो देखिएको जनाएको छ। घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र गोहीको आक्रमण भए नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





