सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह
काठमाडौँ/स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गर्नु भएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्र्दशमा आज सन्देश जारी गर्दै उहाँले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गर्नुभयो ।
सन्देशमा मन्त्री मेहताले भन्नुभएको छ,“सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ, तर दृढ इच्छाशक्ति परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्णरूपमा सम्भव छ ।”
मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गर्नुभएको छ । सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री मेहताले इ—सिगरेट, भेप हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विशाक्त तत्व हुने भएकाले कुनै भ्रममा नपर्न पनि अनुरोध गर्नुभएको छ । “सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करिव २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन्”, सन्देशमा भनिएको छ,“देशमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्याङ्क अत्यन्त दुःख र सबैका लागि चिन्ताको विषय हो । त्यसैले यसको लत छोड्न आग्रह छ ।”
मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “विभिन्न स्वादमा पाइने, हेर्दा आकर्षण र आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण बजारीकरण गर्ने काम भइरहेको छ, जसले समस्यालाई झनै गम्भीर बनाएको छ । अब यस्तो नगरौँ । सुर्तिजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न लागौँ ।”
मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीको समाना गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयन विशेष जोड दिएको बताउनुभएको छ ।
नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँस कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । रासस





