चितवनका एसपी र डीएसपी दुवैको एकैसाथ सरुवा !
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आज (शुक्रबार) एकसाथ देशभरका ४६ एसपीको सरुवा गर्दा उक्त सूचीमा पुरी पनि परेका हुन्। उनलाई प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकमा खटाइएको छ।
यसैगरी, चितवनमै कार्यरत प्रहरी नायब उपरीक्षक (डीयसपी) रवीन्द्र खनालको पनि सरुवा भएको छ। खनाललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामसाहपथ काठमाडौंमा सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयले आजै खनालसँगै देशभर १४९ डीएसपीहरुको कार्यक्षेत्र अदलबदल गरेको हो।
चितवनमा अब प्रहरीको नेतृत्व गर्न प्रहरी उपरीक्षक रामेश्वर पौडेल आउने भएका छन्। पौडेल हाल काठमाडौंको महारजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखाको नेतृत्वमा थिए।
यसैगरी, चितवनमै रिक्त हुने डीएसपीका रुपमा चन्द्र भुसन यादवलाई पठाइने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ। यादव हाल लागूऔषध नियन्त्रण ब्युरो मानव श्रोत व्यवस्थापन शाखा कोटेश्वर, काठमाडौं शाखामा कार्यरत थिए।





