बालेन सरकारसंग आशावादी जनकपुरवासी, अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुनेमा विश्वस्त
जनकपुर/वर्षौदेखि निर्माणाधिन अवस्थामा रहेको राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंङ्गशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्न धनुषावासीले प्रत्येक दिन सोध्ने गर्छन । मधेश प्रदेशको राजधानी एवम राजनीतिक परिवर्तनको जडको रुपमा रहेको जनकपुरमा दैनिक कुनै न कुनै मन्त्री र नेता आउने गर्छन् । उनीहरुसँग जनकपुरवासीले एउटै प्रश्न गर्छन–‘रंङ्गशाला कहिले निर्माण हुन्छ ?’
पटक पटक स्थानीय सरकार, केन्द्र सरकार र प्रदेश सरकार फेरिए पनि रंङ्गशाला निर्माणको सपना पूरा हुन सकेको छैन् । हुनत उपमहानगरपालिकाले रंगशाला सुरक्षित राख्न तारबार गरेको छ तर यो बाहेक अरु कुनै भौतिक निर्माणको काम अगाडि बढ्न सकेको छैन ।
बुधबार (हिजो) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि रंङ्गशाला निर्माण स्थलको अवलोकन गरे । स्थानीय खेलाडी र विभिन्न विद्यालयका विद्यार्थीहरु खेल अभ्यास गरिरहेका थिए । मन्त्री पोखरेलले अवलोकन गरिरहँदा उपस्थित स्थानीयवासी र खेलाडीहरुको एउटै प्रश्न थियो–‘रंङ्गशाला कहिले सम्पन्न हुन्छ ?’
मन्त्री पोखरेलले, राज्यले पहिलादेखि ध्यान नदिएका कारण सम्भावना बोकेको रंङ्गशाला निर्माणाधिन अवथामा रहेको बताए । उनले काठमान्डौ पुगेर रंङ्गशाला निर्माण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको अनुदान रकम कहाँ पुगेको छ भन्ने जानकारी लिनुका साथै चाँडै काम अगाडि बढाउने आश्वासन दिए ।
हुन त राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको नेतृत्वमा बनेको अहिलेको सरकारसंग धनुषावासी मात्र नभई सम्पूर्ण नेपालीले ने परिवर्तन र विकासको आशा राखेको छ । तर यो आशा पूरा हुने हो की होइन, त्यो त समयले बताउँछ । प्रतिनिधि सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट विजय भएका रास्वपाका सांसद मनिष झाले आफ्नो ऐजेन्डामै रंगशाला निर्माण गर्ने भनेकामा उनको जितले थप आशा पलाएको मधेश प्रदेश क्यानका उपाध्यक्ष रोशन सिंह बताउँछन् ।
उनले हालको सरकारले बोलेर भन्दा गरेर देखाउने भनेकाले अहिलेसम्म सरकारले गर्दै आएको काम अनुसार जनकपुरधाममा पनि रंगशाला निर्माण हुनेमा आशावादी रहेको बताए ।
उपाध्यक्ष सिंहले रास्वपालाई मधेश प्रदेशले सबैभन्दा बढि सांसद दिएकाले मधेश प्रदेशमा विकास हुनेमा सम्पूर्ण मधेशवासी नै आशावादी रहेको बताए ।
वि।सं २०७५ सालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउँदा एकसय करोड रुपैयाँ जनकपुरधामको विकासमा सहयोग गर्ने घोषणा गरेका थिए ।
उक्त रकम राम जानकी रंगशाला निर्माणमा खर्च गर्ने निर्णय भएपनि हालसम्म विभिन्न प्राविधिक र राजनीतिक अडचनका कारण अलपत्र परेको छ । डिपीआर लगायतका अन्य प्राविधिक कार्यहरु सम्पन्न भइसकेपनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
जेनजी आन्दोलन पश्चात निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारका बेला पनि मन्त्री कुलमान घिसिंङले अनुगमन गरेर रंङ्गशालाको कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।
रास्वपा नेतृत्वको सरकारले रंङ्गशाला निर्माण सम्पन्न गर्नसके धनुषावासीको लागि मात्र नभएर यो सम्पूर्ण प्रदेशवासीका लागि गौरवको विषय हुने स्थानीयवासीहरु बताउँछन् । न्यूज बैंक


