७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित
काठमाडौं/जिल्ला प्रशासन कार्यालयले काठमाडौंका नदी किनारा क्षेत्रमा ७ दिन डोजर चल्दा १५ हजार ३६१ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसमा मनोहरा लगायत भक्तपुरको तथ्यांक समावेश छैन।
कार्यालयका अनुसार वैशाख १२ गते थापाथलीको सुकुम्बासी बस्तीबाट ८१० जना विस्थापित भएका थिए। त्यहाँ १४३ कच्ची संरचना थिए, जसमा १३६ परिवार बस्थे।
ती परिवारमा ४३० महिला, २७० पुरूष, ५० बालक र ६० जना बालिका रहेको प्रशासनले बताएको छ। त्यसै दिन गैरीगाउँ क्षेत्रबाट २८५ पक्की, ५९३ कच्ची गरी ८७८ वटा संरचना भत्काएको बताएको छ, जसमा १००० परिवार रहेको कार्यालयले जानकारी दिएको छ। ती परिवारमा १०५० महिला, ११०० पुरूष, २५० बालक, २०० बालबालिका गरी २६०० जना आश्रित थिए।
सरकारले वैशाख १३ गते मनोहरा क्षेत्रमा डोजर चलाएको थियो। त्यस दिन २ पक्की, १२९ कच्ची गरी १३१ घर भत्काइएको जिप्रकाले बताएको छ। भत्काएको ठूलो बस्ती भक्तपुरतर्फ पर्ने भएकाले काठमाडौंको प्रशासनसँग उक्त तथ्यांक छैन।
काठमाडौंतर्फ उक्त दिन १३१ घरधुरीका ९२१ महिला, ४२७ पुरूष, १५३ बालक, ५५ बालिका गरी १५५६ जना विस्थापित भएको जिप्रकाले जनाएको छ। वैशाख १७ गते कालोपुल क्षेत्रबाट ३ परिवार बस्ने ३ संरचना हटाइएको थियो। त्यसको भोलिपल्ट १८ गते वंशीघाट क्षेत्रबाट २११८, बल्खुबाट ४८१०, शंखमूलबाट ५८०, कालिमाटीबाट ११३५ जना विस्थापित भएका थिए।
सरकारले सात दिनमा ८९० पक्की, १७९७ कच्ची २६८७ संरचना भत्काएको थियो, जसमा २५०१ परिवार आश्रित थिए।


