Breaking News

१० पटक म्याद थप्दा पनि निर्माण सम्पन्न भएन साढे तीन किलोमिटर सडक, फेरि म्याद थप्ने तयारी

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन ।

६ लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्यसहित २०७३ चैत १७ गते ‘कञ्चनजङ्घा–बिरुवा जेभी’सँग ठेक्का सम्झौता गरिएको थियो । करिब ५४ करोड रुपैयाँ लागतमा ३० महिनाभित्र, अर्थात् २०७६ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सडक अहिलेसम्म अधुरै अवस्थामा छ । ठेकदार कम्पनीले ८ पटक म्याद थप्दा पनि काम पूरा गर्न नसकेपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाखमा ठेक्का रद्द गरेको थियो ।

त्यसपछि बाँकी काम सम्पन्न गर्न ‘बावुल दर्शन मालिका जेभी’ (भैरहवा) सँग भ्याटसहित करिब ३३ करोड रुपैयाँमा नयाँ ठेक्का सम्झौता गरिएको थियो । २०८१ असोज १८ गते भएको सम्झौताअनुसार एक वर्षभित्र काम सक्ने लक्ष्य राखिए पनि नयाँ ठेकदारले समेत अपेक्षित प्रगति गर्न सकेको छैन ।

हालसम्म उक्त सडकमा १० पटक म्याद थप भइसकेको छ । नयाँ ठेकदारबाट दुई पटक म्याद थप भएको छ भने तेस्रो पटक म्याद थपका लागि प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

=सडक डिभिजन कार्यालय बुटवलकी सूचना अधिकारी इन्जिनियर शुभेच्छा साहका अनुसार ठेक्काको म्याद चैत १२ गते सकिएको थियो । अब असार मसान्तसम्मका लागि म्याद थप्ने प्रस्ताव माथिल्लो निकायमा पठाइएको छ । म्याद थप स्वीकृत हुने–नहुनेबारे अझै निश्चित छैन ।

साहका अनुसार हालसम्म सडक निर्माणको भौतिक प्रगति करिब ५८ प्रतिशत र वित्तीय प्रगति ४३.९५ प्रतिशत छ ।

नयाँ ठेक्कामा पनि पुरानै नियति

पुरानो ठेक्का तोडेपछि एक वर्षभित्र निर्माण सम्पन्न गर्ने शर्तसहित २०८१ असोज १८ गते नयाँ ठेकदारसँग सम्झौता भए पनि पुरानै नियति दोहोरिएको छ ।

निर्माण कम्पनीका सह–सञ्चालक तौफिक अहमद खानले लागत वृद्धि र निर्माण सामग्रीको अभावका कारण काममा ढिलाइ भएको बताए । ढुङ्गा, गिट्टी, बालुवाजस्ता कच्चा पदार्थ सहज रूपमा उपलब्ध नहुनु मुख्य समस्या रहेको उनको भनाइ छ ।

उनले थपिएको समयभित्रै सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । यो सडक खण्डमा साढे १० मिटर चौडाइको मुख्य लेन, ७ मिटरको सर्भिस लेन, ३ मिटरको फुटपाथ र साढे २ मिटरको ग्रीनबेल्ट (हरित क्षेत्र) सहितको आधुनिक संरचना निर्माण गर्ने सम्झौता गरिएको छ ।

स्थानीय मारमा

सहर विकासको नाममा भइरहेको निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीयवासी र व्यापारी भने हैरान भएका छन् । विशेषगरी ट्राफिकचोक क्षेत्रका व्यवसायीहरू धुलो, हिलोका कारण प्रत्यक्ष प्रभावित बनेका छन् ।

ट्राफिक चोकमा लामो समयदेखि पसल सञ्चालन गर्दै आएका व्यापारी यज्ञ पोखरेलका अनुसार, पसल अगाडि सडक खनेर लामो समयसम्म अलपत्र छोडिएको छ । ‘पानी पर्दा हिलो पसलभित्रै आउँछ, घाम लाग्दा धुलो उडेर बस्नै गाह्रो हुन्छ,’ उनले भने ।

निर्माण कार्य ढिलो हुनुमात्रै होइन, पटक–पटक सडक भत्काउने र पुनः बनाउने प्रवृत्तिले समस्या झन् बढाएको पोखरेलको गुनासो छ । ‘एकपटक राम्रोसँग बनाएर कम्तीमा ५–७ वर्ष टिक्ने बनाउन सकिन्थ्यो, तर बारम्बार भत्काएर हामीलाई धुलोमात्रै खुवाइएको छ,’ उनले थपे ।

सडकको अवस्थाले सवारी चालक पनि उत्तिकै हैरान भएका छन् । विशेषगरी अटो चालकहरू धुलो र बिग्रिएको सडकका कारण थप समस्यामा परेका छन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले पनि सडक निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै ३ किलोमिटर सडक बनाउन वर्षौं लाग्नु विकासको नाममा विडम्बना भएको टिप्पणी गरे । कि सडक भत्काउनै नहुने, भत्काएपछि समयमै सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।