Breaking News

कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

iबुटवल/कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हुलाकी सडकखण्डअन्तर्गत गएराति भएको सवारी दुर्घटनामा थप तीनजना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–१२, पिप्ररहवामा सडक किनारामा रोकिराखिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा भारतबाट आएको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए ।

मृत्यु हुनेहरूमा महाराजगञ्ज नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ निवासी ५५ वर्षीया चिन्नी कुर्मी छन् । घाइते हुनेमा महाराजगञ्ज–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज–११ का २० वर्षीय सुरेश कुर्मी रहेका छन् । उनीहरूको उपचार भइरहेको बताइएको छ ।

बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको स्कार्पियो अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।