Breaking News

अमेरिकाद्वारा इरानी तेल बोकेको जहाज नियन्त्रण

वासिङ्टन डिसी/इरानमाथि सैन्य र आर्थिक दबाब बढाउने रणनीति अन्तर्गत अमेरिकाले हिन्द महासागरमा इरानी तेल बोकेको एउटा प्रतिबन्धित जहाजलाई आफ्नो नियन्त्रणमा लिएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले ‘एमरटी मजेस्टिक एक्स’ नामक जहाजलाई बिच समुद्रमै रोकेर खानतलासी गरिएको पुष्टि गरेको छ।

अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने जल यातायातमाथि पूर्ण रूपमा नाकाबन्दी लगाएपछि अमेरिकाले शृंखलाबद्ध रूपमा यस्ता जहाजहरू नियन्त्रणमा लिइरहेको छ। इरानले भने अमेरिकी जलसेनाको यो कदमलाई सामुद्रिक डकैती को संज्ञा दिँदै विरोध जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज जस्तो महत्त्वपूर्ण व्यापारिक मार्गमा सुरुङ बिछ्याउने वा अवरोध गर्ने जुनसुकै डुङ्गालाई गोली हान्न अमेरिकी जलसेनालाई आदेश दिएसँगै स्थिति थप तनावपूर्ण बनेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार नाकाबन्दी उल्लंघन गरेको आरोपमा अहिलेसम्म ३३ वटा जहाजलाई बिच बाटोबाटै फिर्ता पठाइएको छ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरानमाथिको नाकाबन्दी शतप्रतिशत प्रभावकारी रहेको र इरानको व्यापारिक कारोबार ठप्प भएको दाबी गरेका छन्। उनले इरानले तीन दिनअघि जलमार्ग खुला गर्ने प्रस्ताव राखेको भए पनि आफूले त्यसलाई अस्वीकार गरिदिएको र सम्झौता नभएसम्म नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन्।

यता इरानले भने यो तनावका बिच पनि स्ट्रेट अफ होर्मुज प्रयोग गर्ने जहाजहरूबाट कर (टोल) उठाउन सफल भएको दाबी गरेको छ। इरानी संसदका उपसभामुख हमिदरेजा हाजी बाबेईले संकलित राजस्व केन्द्रीय बैंकमा जम्मा भइसकेको बताए पनि कति रकम र कुन जहाजबाट उठाइएको हो भन्नेबारे केही खुलाएका छैनन्।

पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ताको युद्धविराम अवधि ट्रम्पले थप गरे पनि समुद्रमा भने दुई देशबिचको टकराव रोकिएको छैन। इरानी पक्षले अमेरिकी नाकाबन्दी र युद्धविराम उल्लंघनका कारण तत्काल जलमार्ग खुल्ने सम्भावना नरहेको बताएको छ।एजेन्सी